बालुवाटारको हस्ताक्षर अभियानप्रति मन्त्रीहरु असन्तुष्ट

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १७, २०७७
|
|
१६ पटक हेरिएको
Shares
बालुवाटारको हस्ताक्षर अभियानप्रति मन्त्रीहरु असन्तुष्ट

सारांश

  • काठमाडौं।
  • आफूलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हटाउनेगरि तयारी भैरहेपछि केपी शर्मा ओलीले पनि संसदीय दलमा बहुमत पुर्याउनेगरि आफूनिकट सांसदहरुको हस्ताक्षर संकलन अभियान चलाएका छन्।
  • यो अभियानमा उनीनिकट सांसदहरु महेश बस्नेत, विजय सुब्बा, किसान श्रेष्ठ र नवराज सिलवाल सक्रिय भएर लागेका छन्।

काठमाडौं। आफूलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हटाउनेगरि तयारी भैरहेपछि केपी शर्मा ओलीले पनि संसदीय दलमा बहुमत पुर्याउनेगरि आफूनिकट सांसदहरुको हस्ताक्षर संकलन अभियान चलाएका छन्। यो अभियानमा उनीनिकट सांसदहरु महेश बस्नेत, विजय सुब्बा, किसान श्रेष्ठ र नवराज सिलवाल सक्रिय भएर लागेका छन्। बालुवाटारले दाबी गरेअनुसार ओलीको पक्षमा यो समाचार तयार पार्दासम्म ६२ जना सांसदले हस्ताक्षर गरिसकेका छन्।

तर, यसअघि प्रधानमन्त्री ओलीको पक्षमा उभिने भनेर चर्चामा आएको पूर्व माओवादी केन्द्र खेमाका मन्त्री लेखराज भट्टले हस्ताक्षर अभियानमा सहभागी नहुने बताउन थालेको स्रोतको दाबी छ । आफू पार्टी एकताको पक्षमा रहेको अहिले हस्ताक्षर अभियान चलाउन नहुने उनको भनाई छ । तर, यदि हस्ताक्षर अभियान नै चलाएर एकता भाँड्ने प्रयास भए आफू अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा उभिने उनले आफूनिकट नेताहरुसँग बताउन थालेका छन् । भट्टले आजमात्रै अध्यक्ष दाहालसँग खुमलटारमा पुगेर भेटवार्ता गरेको स्रोतको दाबी छ ।

सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीनिवास बालुवाटारमा ओली पक्षधर सांसदहरुको भेला भएको र ओलीको पक्षमा प्रचण्डनिकट सांसदहरुले समेत हस्ताक्षर गर्ने समाचार बाहिर आएपछि पूर्व माओवादी केन्द्र खेमाका सांसदहरु ओलीको कदमलाई लिएर सशंकित बनेका छन् । सचिवालय बैठकमा ओलीलाई साथ दिएका रामबहादुर थापा बादलले समेत प्रचण्डलाई आज भेटेका थिए । उनले आफूले अन्तिम अवस्थामा दाहाललाई नै साथ दिने स्पष्ट संकेत दिएका छन् । बालुवाटारले हस्ताक्षर अभियान सुरु गरेर पार्टी एकतामाथि खलल पुर्याउने खोजे पूर्वमाओवादी केन्द्रका ६ जनै मन्त्रीहरु रामबहादुर थापा बादल, लेखराज भट्ट, बिना मगर, रामेश्वर राय यादव, वर्षमान पुन र शक्ति बहादुर बस्नेतले राजीनामा दिनेसम्मको तयारी गरेको स्रोतको दाबी छ ।

प्रचण्डनिकट उच्च स्रोतको दाबीअनुसार पूर्व माओवादी केन्द्र खेमाका कुनैपनि सांसद प्रधानमन्त्री ओलीको पक्षमा नउभिने र वारपारको अवस्था आए अध्यक्ष दाहाललाई नै साथ दिने उनीहरुको भित्री तयारी छ । त्यतिमात्रै नभएर, ओली हटाउनेबारे आजको सचिवालय बैठकमा अध्यक्ष दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाले संयुक्त प्रस्ताव लगे नेता नेपालनिकट मन्त्रीहरु घनश्याम भुषाल र यागेश भट्टराईले पनि पदबाट राजीनामा दिने र ओलीविरुद्ध उभिने मनशाय बनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?