बिग्रन थाल्यो कांग्रेस-माओवादी सम्बन्ध/ माओवादी एमाले तालमेलको बहस,

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
१८ पटक हेरिएको
Shares
बिग्रन थाल्यो कांग्रेस-माओवादी सम्बन्ध/ माओवादी एमाले तालमेलको बहस,

सारांश

  • स्थानीय तहको चुनाव सुरु हुनुअघि एमाले नेताहरुले माओवादीलाई निकै कमजोर आँकेका थिए ।
  • माओवादीलाई कुनै मतलव नगरे पनि एमाले एक्लै नेपाली राजनीतिको मियो बन्न सक्छ भन्ने सो पार्टीका नेताहरुको बुझाइ थियो ।
  • तर, तीन चरणमा स्थानीय तहको चुनाव सकिने बेलासम्म आइपुग्दा एमाले नेताहरुको निश्कर्ष गलत सावित भयो ।

स्थानीय तहको चुनाव सुरु हुनुअघि एमाले नेताहरुले माओवादीलाई निकै कमजोर आँकेका थिए । माओवादीलाई कुनै मतलव नगरे पनि एमाले एक्लै नेपाली राजनीतिको मियो बन्न सक्छ भन्ने सो पार्टीका नेताहरुको बुझाइ थियो ।

तर, तीन चरणमा स्थानीय तहको चुनाव सकिने बेलासम्म आइपुग्दा एमाले नेताहरुको निश्कर्ष गलत सावित भयो । माओवादी सानै भए पनि तेस्रो शक्तिका रुपमा देखा परेको र उसलाई साथ लिएर नेपाली कांग्रेसले आफ्नो सत्ता सुरक्षित गरेको स्थितिप्रति अहिले एमाले नेताहरु चुक्चुकाउन थालेका छन् ।

दोस्रो चरणको निर्वाचनपछि एमालेले अनौपचारिक समीक्षाका क्रममा कांग्रेस माओवादी तालमेलका कारण कम्तिमा ४० स्थानीय तहमा पराजय भोग्नुपरेको निष्कर्ष निकाल्यो

आगामी दुबै चुनावमा एमाले र कांग्रेसमध्येबाटै पहिलो र दोस्रो दल हुनेमा कुनै आशंका छैन । तर, माओवादीको अहिले जुन पोजिनश देखिएको छ, उसले धेरै प्रदेशमा कसको सरकार बनाउने भन्ने चाबी हातमा लिनेछ । कम्तिमा ५ वर्षका लागि देश हाँक्न कांग्रेस र एमाले दुवैका लागि माओवादीको साथ आवश्यक देखिन्छ ।

केन्द्र र प्रदेशको सरकार गठनमा मात्रै होइन, राष्ट्रियसभादेखि लिएर राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा समेत माओवादी निर्णायक शक्ति हुन सक्छ, त्यसैले उसँगको तालमेल कांग्रेस र एमाले दुवैका लागि बाध्यात्मक आवश्यकता हो

केन्द्र र प्रदेशको सरकार गठनमा मात्रै होइन, राष्ट्रियसभादेखि लिएर राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा समेत माओवादी निर्णायक शक्ति हुन सक्छ । त्यसैले माओवादीसँगको तालमेल कांग्रेस र एमाले दुवैका लागि बाध्यात्मक आवश्यकता हो ।

माओवादीको बढ्दो शक्तिले के देखाएको छ भने आगामी चुनावमा या चुनावपछाडि सुरु हुने सरकार गठन प्रक्रियामा कांग्रेस वा एमालेमध्ये जसले माओवादीको साथ लिन्छ, उसैले सरकारको चाबी आफ्नो हातमा पार्नेछ । प्रदेश सभा र केन्द्रीय सभा दुबैमा माओवादीको आवश्यकता कांग्रेस वा एमालेलाई पर्ने देखिन्छ

पहिलो चरणको चुनावसम्म एमाले नेताहरुले माओवादीलाई कुनै हैसियत बोकेको दलकै रुपमा देखेनन् । दोस्रो चरणको स्थानीय चुनावपछि एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेललगायतका नेताहरुले कांग्रेससँगको तालमेलले माओवादी सिद्धिने भन्दै आफूसँग तालमेल गरे उसको अस्थित्व रक्षा हुने सार्वजनिक प्रतिक्रिया दिए ।

तर, माओवादीले कांग्रेससँग मिलेर एमालेलाई खुम्च्याउन र आफूलाई तेस्रो शक्तिका रुपमा कायम राख्न दोस्रो चरणको चुनावमा निकै ठूलो भूमिका खेल्यो । कांग्रेससँग नजिकिँदा माओवादीलाई हैन, एमालेलाई चाहिँ घाटा भयो ।

झापा, मोरङल गायतका कतिपय ठाउँमा माओवादीले एमाले हराउनकै लागि कांग्रेसलाई भोट हालेका कारण एक दर्जन बढी स्थानीय तहमा हारिएको एमालेले समीक्षा गरेको छ ।

पहिलो चरणको निर्वाचनको तुलनामा दोस्रो चरणमा कांग्रेस र माओवादीबीच देशव्यापी संगठित तालमेल भएको थियो । एमाले २ नम्बर प्रदेशमा पनि कांग्रेस माओवादी तालमेल हुने र राजमार्ग क्षेत्रका कम्तिमा १० नगरपालिका गुमाउनुपने त्रासमा थियो । तथापि अन्तिममा कांग्रेस माओवादीवीच उल्लेख्य तालमेल नभएपछि एमालेले राहतको सास फेर्‍यो ।

तर, तेस्रो चरणको मतगणनाको परिणाम पनि मिश्रति प्रकारकै आउने संकेत देखिइसकेको छ । मधेसमा माओवादी र संघीय फोरम एमालेकै हाराहारीमा आउन लागेको संकेत देखिँदैछ । यो संकेत कांग्रेसका लागि मात्रै होइन, एमालेका लागिसमेत निकै जोखिमपूर्ण छ ।

शायद यही जोखिमको पूर्वाभाष भएरै हुनुपर्छ, एमाले उपाध्यक्ष वामदेव गौतमले आउने सबै चुनावमा बामपन्थी गठबन्धन बन्नुपर्ने बहस अनलाइनखबरबाटै खुलासा गरिसकेका छन् ।

एमालेलाई हराउन आगामी संसदीय चुनावमा कम्तिमा ५० ठाउँमा माओवादीसँग तालमेल गर्ने प्रयास कांग्रेसले गरिरहेको भन्दै एमाले तरंगित भएको छ । एमालेका शीर्ष नेताहरु नै माओवादीलाई कांग्रेसको पोल्टामा जान दिन नहुने भन्दै अनौपचारिकरुपमा माओवादीका दोस्रो तहका नेताहरुसँग छलफलमा छन् ।

एमालेका एक पदाधिकारीले भने-केपी ओलीले प्रधानमन्त्री नछाड्ने भए भनेर प्रचण्ड बिच्किँदा आज माओवादी कांग्रेसको सहायक संगठन जस्तो बन्न पुग्यो । यदि ५० ठाउँमा कांग्रेस र माओवादी मिले भने केन्द्रीय सरकारमा मात्र होइन, प्रदेश सरकारमा समेत एमालेलाई गाह्रो पार्छन् । त्यसैले अब माओवादीलाई कांग्रेसबाट फुत्काउन हामीले हामीभित्रको दम्भ त्याग्नैपर्छ ।’

मिश्रित निर्वाचन प्रणालीका कारण आगामी चुनावमा अधिकांश प्रदेशमा कुनै पनि दलको बहुमत नपुग्ने प्रष्ट छ । त्यो अवस्थामा कांग्रेस र एमालेमध्ये जसले माओवादीको सहयोग लिन्छ, उसैले सरकार बनाउने अवस्था आउन सक्छ । त्यसैले अहिलेदेखि नै माओवादीलाई कांग्रेससँग भन्दा आफूसँगको तालमेलमा आकषिर्त गर्नुपर्छ भन्ने मत एमालेमा प्रकट हुन थालेको छ ।

‘हामी मूलतः एक्लै चुनाव जित्छौं । कांग्रेस र माओवादी मिल्दा पनि एमालेले जित्छ भन्ने पुष्टि भइसकेको छ । तर, पनि माओवादीको बुद्धि फिर्‍यो भने उसले एमालेसँग तालमेल गर्नुपर्छ’ एमाले उपाध्यक्ष बामदेव गौतमले अनलाइनखबरसँग भने ‘कांग्रेससँगको तालमेलबाट अन्ततः माओवादी सिद्धिने हो, अप्राकृतिक गठबन्धन छाडेर माओवादीले समीक्षा गरोस् ।’

६०/४० को अनौपचारिक बहस !

एमालेका केही नेताहरु बिगतका तिक्ततता मेटाउँदै माओवादीलाई कांग्रेससँग टाँसिन नदिन अनौपचारिक छलफलमा जुटेका छन् । केन्द्र र प्रदेश सरकार बनाउने सन्दर्भमा माओवादीले ल्याउने सिट निर्णायक हुन सक्ने भएकाले माओवादीलाई कांग्रेसतिर धकेल्न नहुने उनीहरुको तर्क छ ।

एमालेका लागि तीन दल एक्लाएक्लै लड्दा फाइदा छ, यदि त्यसो नभएमा कतिपय ठाउँमा माओवादीसँग तालमेल गरेर कांग्रेस हराउनु उसका लागि लाभदायक हुने भएकाले केही एमाले नेताहरु माओवादीसँग संवादमा लागेका हुन् ।

यही निश्कर्षका साथ केही एमाले नेताहरुले आगामी चुनावमा माओवादीसँग ६०/४० को भागवण्डा गरेर भए पनि तालमेलमा जानुपर्ने बताउन थालेका छन् ।

प्रदेश नम्बर २ मा आम रुपमा दलहरु एक्लाएक्लै चुनाव लडिरहँदा यो प्रश्न पनि उठेकै हो- के अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि मुख्य दलहरु आ-आफ्नै बुँतामा लड्छन् ? तर, मतगणनासम्म आइपुग्दा दुई नम्बर प्रदेशमा कांग्रेस र एमालेलाई माओवादी र मधेस केन्दि्रत दलहरुले चुनौती दिएको प्रष्टै देखिएको छ ।

यो चुनौतीलाई हेर्दाखेरि दलहरु एक्लाएक्लै चुनाव लडे नै भने पनि चुनावपछि सरकार गठन गर्ने बेलामा चाहिँ कांग्रेस र एमाले दुबैलाई माओवादी र मधेसवादीको सहयोगको अपरिहार्यता बढेकै छ ।

माओवादीले अबको चुनावमा कांग्रेस वा एमालेमध्ये कसलाई रोज्ला ? हामीले यो प्रश्न माओवादीका प्रभावशाली नेता शक्ति बस्नेतसँग गर्दा उनी गृहजिल्ला जाजरकोटमा रहेछन् । बस्नेतले यो प्रश्नमै आपत्ति जनाउँदै उल्टो प्रतिप्रश्न गरे- ‘के माओवादी तालमेलबिना बाँच्नै नसक्ने र जित्नै नसक्ने पार्टी हो ?’

कांग्रेससँग पार्टी एकता नै गर्ने जसरी तालमेलका लागि मरिहत्ते गरेकोमा शक्ति बस्नेत, टोपबहादुर रायमाझीहरु सन्तुष्ट छैनन् । त्यसको संकेत हो बस्नेतको यो प्रश्न । उनले माओवादी पार्टी एक्लै चुनाव लडेर जित्ने सामथ्र्य राख्ने भएकाले अनावश्यक रुपमा कांग्रेस वा एमालेतिर लहसिनु लज्जास्पद रहेको बताए ।

बस्नेतले भने- ‘माओवादीको अलग पहिचान छ । हाम्रो आफ्नै अस्थित्व छ । ०६४ को ठूलो पार्टी हो । हामी आमरुपमा आफ्नै बुँतामा चुनाव लड्नुपर्छ । कहीँकतै स्थानीय आवश्यकताका आधारमा एमाले वा कांग्रेससँग तालमेल गर्न सकिन्छ । तर, केन्द्रबाटै ६० र ४० भनेर जानु भनेको हामी सिद्धिने बाटो हो ।’

कांग्रेससँग केन्द्रीयस्तरबाटै चुनावी तालमेल गर्ने कुरामा माओवादीमा एकमत देखिन्न । टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेशका लुम्बिनी क्षेत्रमा जित्नका लागि एमालेसँग तालमेल गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । स्रोतका अनुसार उनी एमालेका उपमहासचिव बिष्णु पौडेलसँगको संवादमा छन् ।

एमालेले पनि ५ नम्बर प्रदेशका तराईका जिल्लामा माओवादीसँग मिल्दा फाइदा हुने देखेर सम्वाद चलाएको स्रोत बताउँछ ।

एमाले सचिव योगेश भट्टराईले आइतवार सार्वजनिक मञ्चबाटै माओवादी अन्ततः एमालेसँगै तालमेलमा आउनुपर्ने बताएका छन् ।

तर, यी सबै घटनाक्रमका बाबजुद माओवादीको मूल नेतृत्व एमालेसँग नजिक हुन खासै इच्छुक देखिँदैन । नेताका भाषणदेखि कार्यकर्ताका सामाजिक सञ्जालका वाकयुद्ध सुन्दा र हेर्दा यी दुई दलबीच सहकार्यको जमिन तत्कालै देखिँदैन ।

एमाले नेताहरुले आफूलाई असाध्यै हेप्ने गरेको, खसालेर बोल्ने गरेको र तालमेलको सहमति गरिए पनि वीचमा धोका दिने गरेको माओवादी नेताहरुको गुनासो छ । कांग्रेससँग मिल्दाखेरि यस्तो समस्या नआएको र एमालेको सेखी झार्न पाइएको भन्दै उनीहरु सन्तुष्ट देखिन्छन् ।

बिग्रँदो कांग्रेस-माओवादी सम्बन्ध

कांग्रेस नेता विमलेन्द्र निधिको भनाइलाई मान्ने हो भने प्रदेश नम्बर २ बाट पाठ सिकेर आगामी दुबै चुनावमा कांग्रेस र माओवादीबीच केन्द्रबाटै ‘प्याकेज तालमेल’ को प्रयास हुनेछ ।

कांग्रेसमा देउवा र निधी दुबै नेताहरु एमालेलाई हराउन र चुनावपछि पनि सरकारमा पुग्नकै लागि भए पनि माओवादीलाई आगामी चुनावमा साथमा लिएर जाने पक्षमा छन् ।

तर, रामचन्द्र पौडेल पक्ष माओवादीसँगको तालमेलबाट कांग्रेसलाई फाइदा नभएको निष्कर्षमा पुगेको सूत्रहरुको कथन छ । पौडेल पक्षका कांग्रेस महामन्त्री शशांक कोइराला कांग्रेसकै कारण माओवादीले स्थानीय तह चुनावमा अहिलेको आकार पाएको दाबी गर्छन् । उनले अनलाइनखबरसँग भने- माओवादीलाई कांग्रेसको तालमेलबाट फाइदा भएको छ । तर, माओवादीसँगको तालमेल कांग्रेसका लागि फाइदाजनक भएन, त्यसैले हामी आफ्नै बलमा चुनाव लड्नुपर्छ भन्नेमा छौं ।

तर, कांग्रेस सभापति शेरबहादुर देउवाले चाहना गर्दैमा मात्रै माओवादी पार्टीले ऊसँग दीर्घकालीन सहकार्य गरिरहन्छ भनेर अनुमान लगाउन चाहिँ सकिँदैन ।

 

माओवादी अध्यक्ष प्रचण्ड चतुर राजनीतिक खेलाडी हुन् । अहिले देउवा नेतृत्वको सरकारले जम्बो मन्त्रिमण्डल बनाउनेदेखि लिएर विभिन्न अलोकप्रिय निर्णयहरु गरिरहेको प्रचण्डलाई चित्त बुझेको छैन । त्यसैगरी भारतमा गएर संविधानका बारेमा देउवाले दिएको अभिव्यक्तिको त प्रचण्डले सार्वजनिक रुपमै विरोध गरिसकेका छन्

एकातिर शेरबहादुर देउवाको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट बन्दै गइरहेका छन् भने अर्कोतर्फ पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कांग्रेससँग हैन, वामपन्थी र राष्ट्रवादी शक्तिहरुसँग दीर्घकालीन तालमेल गरेर अघि बढ्नुपर्ने लविङ माओवादीभित्र निरन्तर गरिरहेका छन् ।

यी सबै घटनाक्रमले के देखाउँछन् भने देउवा सरकारले गर्ने सबैखाले अलोकपि्रय निर्णयको साक्षी बसिरहन माओवादी पार्टी सधैं तयार नहुन सक्छ । आगामी चुनावपछि बन्ने सरकारमा पनि देउवाले यस्तैखाले अलोकपि्रय निर्णय गर्ने हुन् कि भन्ने डर माओवादी नेताहरुमा पलाउन थालिसकेको छ । यो अवस्थामा माओवादीले आगामी चुनाव अगाडि वा पछाडि काँध नफेर्ला भन्न सकिँदैन ।

आगामी चुनावपछि तेस्रो दलको हातमा सरकार गठनको तालाचाबी आयो भने त्यसबेला प्रचण्ड आफैंले सरकारको नेतृत्व गर्ने प्रस्ताव नल्याउलान् भन्न सकिँदैन

आगामी चुनावपछि तेस्रो दलको हातमा सरकार गठनको तालाचाबी आयो भने त्यसबेला प्रचण्ड आफैंले सरकारको नेतृत्व गर्ने प्रस्ताव नल्याउलान् भन्न सकिँदैन ।

सरकारमा माओवादीले कांग्रेससँग गठबन्धन गरेता पनि कांग्रेसले स्थानीय तहको चुनावमा माओवादीको माओवादीलाई हेप्ने काम गरेका माओवादी नेताहरुमा पर्न थालेको छ । विशेष गरी मधेसको चुनावमा कांग्रेसले माओवादीलाई कम आँकेको नेताहरुको बुझाइ छ ।

उता भरतपुर महानगरको कार्यपालिका गठनका बेलामा कांग्रेसले धोका दिएको माओवादी नेताको गुनासो छ ।

रोचक त के छ भने मोरङ जिससमा कांग्रेसको जितको सम्भावना हुँदाहुँदै त्यहाँ माओवादीले एमालेसँग मिलेर कांग्रेसलाई हराइदिएको छ । कांग्रेसमा दम्भ देखिएको भन्दै मोरङका माओवादीहरुले कांग्रेसलाई हराएर एमालेलाई सघाएका छन् । र, आगामी प्रदेशसभा र केन्द्रको चुनावमा पनि मोरङका माओवादी नेताहरुले एमालेसँग तालमेलका लागि छलफल चलाउन थालिसकेको स्रोतले बतायो ।

यो परिस्थितिमा कांग्रेसले माओवादीसँग देखेको दीर्घकालीन साँठगाँठको सपना तासको घरजस्तै भत्कने सम्भावना देखापरिरहेको छ ।

 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Minesh Gole

    Kepi sanga ali hosiyar prachanda jyu ????

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?