यी हुन् अझैसम्म मोबाइल नबोक्ने ‘ठूला मान्छेहरु’
सारांश
- एक्काइसौँ शताब्दीमा मानिस प्रविधिविनाको जिन्दगीको कल्पना पनि गर्न सक्दैनन् ।
- नयाँ प्रविधिसँग मानिस आफूलाई व्यस्त बनाउन चाहन्छन् ।
- कम्प्युटर, मोबाइल, ट्याबलगायतका प्रविधिले मानिसलाई यति धेरै सुविधा दिलाइदिएको छ कि जतिवेला पनि ऊ त्यसमै रमाइरहेको छ ।
एक्काइसौँ शताब्दीमा मानिस प्रविधिविनाको जिन्दगीको कल्पना पनि गर्न सक्दैनन् । नयाँ प्रविधिसँग मानिस आफूलाई व्यस्त बनाउन चाहन्छन् । कम्प्युटर, मोबाइल, ट्याबलगायतका प्रविधिले मानिसलाई यति धेरै सुविधा दिलाइदिएको छ कि जतिवेला पनि ऊ त्यसमै रमाइरहेको छ । प्रविधिको सबैभन्दा सजिलो उत्पादन मोबाइल त अहिले मानिसको दैनिक जीवन नै भइसकेको छ । मानिस हरपल मोबाइलमा गफिइरहेको हुन्छ, म्यासेन्जरको च्याटिङमा व्यस्त भइरहेको हुन्छ ।
निजी सचिवको मोबाइलमा कुराकानी
शेरबहादुर देउवा, सभापति, कांग्रेस
कांग्रेस सभापति शेरबहादुर देउवा चारपटकसम्म प्रधानमन्त्री भइसकेका छन् । उनी पहिलोपटक प्रधानमन्त्री भएका वेला नेपालमा सूचना, सञ्चार तथा प्रविधिको विकास भएको हो । तर, देउवा आफैँ भने निजी मोबाइल फोन प्रयोग गर्दैनन् । मोबाइल नबोके पनि उनले स्वकीय सचिव भानु देउवाको मोबाइलबाट कुराकानी गर्ने गरेका छन् । कांग्रेस सभापति देउवासँग कुराकानी गर्नुपर्ने भए वा भेटघाटका लागि समय मिलाउनुपरेमा भानु देउवाको मोबाइल टिपाउने गर्छन् । कांग्रेस नेताहरू मात्र होइन, अन्य दलका नेता तथा कूटनीतिक नियोगबाट कुराकानी गर्नुपर्ने भएमा पनि उनकै मोबाइल प्रयोग हुन्छ ।
कतिपय अवस्थामा देउवाले श्रीमती आरजु राणा देउवाको मोबाइलबाट पनि कुराकानी गर्दै आएका छन् । देउवाको आफ्नै मोबाइल भने नरहेको उनका स्वकीय सचिव भानु देउवा बताउँछन् । ‘सभापतिले मेरो मोबाइलमा कुराकानी गर्नहुन्छ, त्यसबाहेक मोबाइल खेलाउने वा अन्य केही गतिविधि गर्नुहुुन्न,’ भानुले नयाँ पत्रिकासँग भने ।
मोबाइलले व्यक्तिलाई असामाजिकीकरण बनायो
केदारभक्त माथेमा, शिक्षाविद्
शिक्षाविद् केदारभक्त माथेमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति र पूर्वराजदूत पनि हुन् । जापानका लागि नेपाली राजदूत माथेमा मोबाइलविना पनि निरन्तर सक्रिय छन् । त्रिविको उपकुलपति र राजदूतको जिम्मेवारीमा रहँदा पनि उनले मोबाइल बोकेनन् । माथेमाले प्रविधि विकासको असन्तुष्टिले मोबाइल नबोकेका भने होइनन् । अधिकांश मानिस फेसबुक, ट्विटर, भाइबरलगायतका सामाजिक सञ्जालमा सक्रिय हुन्छन् । केही मानिस भने यी सबै चिजबाट टाढा हुन्छन् । शिक्षाविद् माथेमा इन्टरनेटबाट टाढा छैनन्, तर मोबाइल भने बोक्दैनन् । माथेमासँगको सम्पर्क माध्यम भनेको इमेल वा घरको ल्यान्डलाइन टेलिफोन हो । ‘जापानको राजदूत हुँदा मोेबाइल बोकिनँ, अहिले त झन् के बोक्नु भन्ने लाग्छ,’ माथेमाले नयाँ पत्रिकासँग भने, ‘छोरीले एउटा मोबाइल किनिदिएकी छिन्, तर चलाउने गरेको छैन ।’
माथेमालाई कार्यक्रममा जाँदा मोबाइलमा फेसबुक, ट्विटर चलाएर बसेको रुचिकर लाग्दैन । मोबाइलमा रमाउने मानिस सामाजिकीकरण कम हुने उनको तर्क छ । त्यस्तो प्रवृत्तिले पश्चिमा देशका किशोरकिशोरीमा समस्या सिर्जना गरेको उनको भनाइ छ । ‘मोबाइल नहुँदा फेसबुक र ट्विटर पनि चलाउँदिनँ, यसले मलाई समय बचत गराएको छ, त्यो समयमा अध्ययन गर्छु,’ माथेमाले भने ।
मोबाइल नबोक्ने डाक्टर
डा. सुन्दरमणि दीक्षित, नागरिक अगुवा
डा. सुन्दरमणि दीक्षित अधिकारकर्मीका साथै वरिष्ठ मुटुरोग विशेषज्ञ पनि हुन् । पेसागत धर्म र नागरिक अगुवाइको नेतृत्वकर्ताको हैसियतले पनि उनी निरन्तर सम्पर्कमा रहनुपर्ने मानिस हुन् । सबैसँग सहज सम्बन्धका लागि दीक्षितले मोबाइल बोक्नुपर्ने हो । तर, उनले अहिलेसम्म मोबाइलविनै आफ्नो दैनिकी चलाउँदै आएका छन् । बिरामीलाई चिकित्सकीय सेवा प्रदान गर्न उनी निजी निवास र अफिसको फोन प्रयोग गर्छन् । समयप्रति निकै सचेत रहने दीक्षितले ल्यान्डलाइनबाटै सबै कार्यक्रमको तालिका तय गर्दै आएका छन् ।
मोबाइलबाट मानसिक
दिग्दारी हुन्छ
कृष्ण पहाडी, नागरिक अगुवा
०६२/६३ को जनआन्दोलनका वेला प्रखर वक्ताको छवि बनाएका अधिकारकर्मी कृष्ण पहाडी आन्दोलनको नेतृत्वकर्ता नै थिए । यस आधारमा भन्नुपर्दा पहाडीको सबैभन्दा बढी व्यक्तिसँग सम्पर्क र सम्बन्ध हुनुपर्ने हो । त्यसका लागि जति सकिन्छ त्यति धेरै सामाजिक सञ्जाल र मोबाइल प्रयोग हुनुपर्ने हो । तर, उनी मोबाइल, फेसबुक र ट्विटर प्रयोग गर्दैनन् ।
पहाडीले किन मोबाइल बोकेनन् भन्नेमा कुनै विशेष कारण भने छैन । ‘पहिलादेखि नै बोकिएन, त्यसकारण बोक्न खास मन लागेको छैन,’ उनले भने । पहाडीले दैनिक सम्पर्कका लागि बिहान–बेलुका घरको ल्यान्डलाइन फोनमा कुराकानी हुने र दिउँसो अफिसको टेलिफोनमा कुराकानी हुने भएकाले मोबाइल आवश्यक नपरेको बताए । उनी साँझ ६ बजे घर पुगिसकेका हुन्छन् भने बिहान ९ बजेसम्म घरमै हुन्छन् । त्यतिवेलासम्म उनलाई घरमा कुराकानी गर्न सकिन्छ भने दिउँसो उनलाई शान्ति समाजको कार्यालयमा भेटिन्छ । त्यसबाहेक पहाडीसँग इमेलमा कुराकानी गर्न सकिन्छ ।
मोबाइल नहुँदा समस्या नभोगेका भने होइनन् पहाडीले । विदेश भ्रमणमा जाँदा त समस्याका भुक्तभोगी हुन् उनी । तैपनि मोबाइल प्रयोगमा भने उनको रुचि देखिन्न । मोबाइल नबोकेकै कारण भारत जाँदा रेल र प्लेनको टिकट किन्दा समस्या व्यहोरेको पहाडीले अनुभव सुनाए । ‘मोबाइल नबोक्दा भारतमा असामाजिक नै ठानेका थिए,’ पहाडीले भने, ‘फोन गर्नैपर्ने बाध्यता भएर वनारसमा फोन खोज्दा पिसिओ नै बन्द रहेकाले समस्या भोगेको थिएँ ।’
घरको फोन छँदै छ
विहारीकृष्ण श्रेष्ठ, पूर्वप्रशासक
पूर्वसचिव विहारीकृष्ण श्रेष्ठ नेपालमा उपभोक्ता समूह र आमा समूहको अवधारणा ल्याएर चर्चामा आएका प्रशासक हुन् । नेपालमा विकेन्द्रीकरणको पहिलो ऐन ल्याउने श्रेय उनैलाई जान्छ । त्यति मात्र होइन, इलाका विभाजनको सुरुवाती अवधारणा पनि उनैले ल्याएका थिए । कुनै वेला उनी राजा वीरेन्द्रको प्रिय प्रशासकसमेत थिए । वीरेन्द्रका महत्वपूर्ण भाषण उनैले लेख्थे । तैपनि श्रेष्ठ मोबाइल प्रयोगकर्ता भने होइनन् । मोबाइल प्रयोग नगरेकै कारण त्यति ठूलो समस्या महसुस नगरेको उनी बताउँछन् । तर, गाडी जाममा परेर कार्यक्रम वा घरमा ढिला हुँदाचाहिँ मोबाइल भइदिए खबर गर्न हुन्थ्यो जस्तो उनलाई नलागेको भने होइन । ‘यसका बाबजुद पनि मोबाइल बोक्न रुचिकर भने लागेन,’ श्रेष्ठले भने ।
खराबीले नबोकेको होइन
सत्यमोहन जोशी, संस्कृतिविद्
सत्यमोहन जोशी संस्कृतिविद् हुन् । उमेरले झन्डै शताब्दी टेक्न लागेका जोशी पछिल्लो पुस्ताको आकर्षण रहेको मोबाइलमा त्यति धेरै चासो राख्दैनन् । मोबाइलबाट उत्पन्न खराबी वा समस्याका कारण उनले मोबाइल नबोकेका भने होइनन् । अहिलेसम्म आफूले मोबाइलको आवश्यकता नै महसुुस नगरेको उनी बताउँछन् । सूचना तथा प्रविधिको विकासबारे उनको रुचि नै छ । ‘कुनै समस्याका कारण मैले मोबाइल नबोकेको होइन,’ जोशीले भने, ‘मलाई अलि शान्त जीवन मन पर्छ ।’
मोबाइल बोकौँजस्तो खासै नलागेको जोशी बताउँछन् । घरको ल्यान्डलाइन फोनमा उनी कुराकानी गर्छन् र कार्यक्रमको समय निर्धारण गर्छन् । त्यसैअनुसार उनी सकभर पैदलै हिँड्छन् । जोशी मोबाइल नबोक्ने मात्र होइन, सार्वजनिक यातायात चढ्न पनि रुचि राख्दैनन् । ललितपुरको मंगलबजार क्षेत्रमा बस्ने जोशी पहिले पहिले काठमाडौंसम्मको यात्रा पैदल नै गर्थे । केही समयअघि मात्र ललितपुर महानगरपालिकाले सम्मानस्वरूप जोशीलाई गाडी सुविधा दिएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया