लघुकथा: सत्य कुरा बौलाहाले गर्छ
सारांश
- विजय तिमिल्सिना प्रसङ्ग हो, गत हप्ताको ।
- चावहिल चोकबाट घरको बाटोतिर पाइला लम्किदै थिए ।
- कार्यालयको कामले थकित मस्तिष्क बोकी साँझको भीडलाई छिचोल्दै मेडिकेयर हस्पिटलको शाखा बाटोतिरको गाडी र पैदाल यात्रीको चाप कमै हुने ओरालो ओर्लिएँ ।
विजय तिमिल्सिना
प्रसङ्ग हो, गत हप्ताको । चावहिल चोकबाट घरको बाटोतिर पाइला लम्किदै थिए । कार्यालयको कामले थकित मस्तिष्क बोकी साँझको भीडलाई छिचोल्दै मेडिकेयर हस्पिटलको शाखा बाटोतिरको गाडी र पैदाल यात्रीको चाप कमै हुने ओरालो ओर्लिएँ । हस्पिटल अगाडि एकजना असामान्य मान्छे एक्लै भटभटाउँदै थिए । उनी मेरो अघि लागे, म उनको पछिपछि उनको आवाज पछ्याउँदै ।
– सबैलाई आफू सुरक्षित हुनुछ तर मेरो ध्यान सधैं संगठन मजबुत बनाउनेतर्फ रहने छ । म कहिल्यै कसैको एक मिनेटको मिठो गफमा आफ्नो निर्णय परिवर्तन गर्ने छैन । होला त्यो गफले मेरो र संगठनको भविष्यमा कायापलट ल्याउला तर गहिराइमा म पनि डुबेको छु, प्रतिक्षा गर्छु । ढिला होस तर मोती नटिपी छोडदिन ।)
– गधाले भारी बोक्ने हो । कोही खेत जोत्न परीक्षण गर्छु भन्ला, सही होला ? तर मिठो भाषामा भन्दैमा गधाले खेत जोत्दैन । त्यो प्रयोग गरेर प्रमाणित गराउनु पर्छ ।
– सुख्खा रोटी खान नपाउनेहरु मर्सिडिज त चढ्लान तर आदर्श तिनै खान नपाउनेका लागि बन्न सक्दैनन् ।
– खुराफातको गोटी रातभरि खेलाएर दिनभरि चिल्ला रोटी बेल्नेहरुले मलाई बौलाहा भन्छन् । थाहा छैन। तिनीहरु कहिले सद्धे हुन्छन् ?
निकै घतलाग्दो गरी उनी भटभटाए । म उनको पछिपछि ओम हस्पिटलको गेटसम्म आएँ । टक्क उभिदै मलाई संकेत गर्दै चिया खाने पैसा दिनुस् न भन्दै हात थापे । कति पैसाले चिया आउछ ? चिया पसलेसँगै माग्नुस् न । एक कप चिया तपाईंलाई सित्तैमा पिलाउँदैन ? मेरो कुरा सुनेर उनी फरक्क फर्किए । दाइ आउनुस् सँगै चिया खाऊँ । ओम हस्पिटलसँगैको तरकारी बजारभित्रको एक चिया पसलतिर संकेत गर्दै बाटोमा मैले उसलाई पछ्याएको कुरा सुनाए । साहुजी २ कप चिया दिनुस् ल । “बसम् दाइ” भन्दै अगाडिको मेच ताने । एउटा प्रश्न सोध्छु दाइ, नरिसाउनु है । उनी केही उत्तर नदिई मौन बसे । भन्नुस् एउटा पागलको हालत कस्तो हुन्छ ? बिल्कुल डरलाग्दो । जिङरिङ्ग परेको कपाल, राताराता आँखा, च्यातिएको मैलो कपडा, बूढी औंला निस्किएको जुत्ता लगाएका उनले केहीबेरपछि चोर औंला ठडाउँदै ल सोध तिम्रो एक कप चियाको मूल्य चुकाउछु भने । मैले प्रश्न गरें, “तपाईंका सबै कुरा चेतनामय छन् तर तपाईं किन अर्ध चेतनामा ? तिमीले मलाई दाइ भन्यौ । मैले तिम्रो उमेर केलाउन जरुरी छैन । म गमक्क फुलेर दाइ भइदिँदा भैगो नि । तर मलाई त्यस्तो कुरामा फुल्न होइन खुल्न मन पर्छ । मलाई तिमी भाइ हौ कि दाइ ? केलाउन मन लाग्छ । अनि म खोतल्न थाल्छु, तिम्रो र मेरो उमेरबीचको फरक । त्यसपछि त तिमी नै मलाई ठीस भन्न थाल्छौ । उनले उत्तर यस्तो दिए । मैले अर्को प्रश्न सोध्न मुख खोल्नै लाग्दा एक कप चियाको १५ रुपैयाँ पर्छ । त्यसैले तिमीले मलाई ३ वटा प्रश्न गर्न सक्छौ । प्रतिप्रश्न मूल्य रु. ५ हुन्छ ? भन्दै उनले मलाई ३ प्रश्न सोध्ने अनुमति दिए । मैले नडराई प्रश्न गर्ने मौका पाएँ ।
– तपाई परिवर्तनलाई विश्वास गर्न नसकेर यस्तो भएको हो कि जस्तो लाग्यो । मैले प्रश्न गरे ।
– तिमी कुकुर कार्तिक नलाग्दै उत्ताउलो भएकोलाई परिवर्तन मान्छौ भने हो म परिवर्तनलाई विश्वास गर्दिन । म त्यो परिवर्तनलाई विश्वास गर्छु, जुन परिवर्तनले कुकुरलाई कार्तिकसम्म नकुराओस् । उसको यो उत्तर मैले बुझिन । दोहोराएर सोध्ने हिग्मत पनि भएन । अनि अर्को प्रश्न गरें–
– मिठो बोली भएकालाई गाली गर्दै हुनुहुन्थ्यो । मिठो बोल्नु राम्रो होइन र ?
– हा हा हा हाँस्दै उनले भने, मिठो बोल्नु राम्रो हो र सबैले मिठो बोल्नु पर्छ । तर बोलीमा राम राम गोजीमा छुरा हुनु भएन । कसैले एक मिनेट मिठो गफ दिएर, भाषण ठोकेर, धेरै बर्बाद भएका छन् । मिठो बोली होइन । मिठो परिणामको खोज गर्नुपर्छ । जमाना मिठो प्रगतिको सपना देख्छ तर मिठो बोलीले होइन कि मिठो लगनशीलताले प्रगति मार्ग पहिल्याउँछ भन्ने भुल्छ । एक मिनेट मिठो बोलेर आफ्नै बोलीलाई धोका दिनेहरुलाई तिमीले देखेको र भोगेको पनि होला । प्रश्नहरु तिम्रा थिए । चिया मेरो दुबै सकियो । त्जबलपक ायच समय । “हो म बौलाए, तिमी सत्यलाई बौलाहा देख्छौ भने” भन्दै उनी बाटो लागें ।
प्रतिक्रिया