वाम गठबन्धन टिकाउनै समस्या

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
वाम गठबन्धन टिकाउनै समस्या

सारांश

  • काठमाडौं, असोज २९ – १२ दिनअघि नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले राष्ट्रिय सभागृहमा भव्य कायक्रम गरेर आगामी चुनावमा तालमेल र चुनावपछि पार्टी एकीकरण गर्ने घोषणा गरे ।
  • दसैँ लगत्तै अनपेक्षित रुपमा घोषणा भएको वाम तालमेलले नेपालको आन्तरिक राजनीतिक वृत्तमा मात्र नभइ छिमेकी देशसम्म हलचल ल्यायो ।
  • एमाले र माओवादी केन्द्रको तालमेलले नेपाली कांग्रेसलाई पनि चुनावमा गठबन्धन गर्नुपर्र्ने दबाब बढ्यो ।

काठमाडौं, असोज २९ – १२ दिनअघि नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले राष्ट्रिय सभागृहमा भव्य कायक्रम गरेर आगामी चुनावमा तालमेल र चुनावपछि पार्टी एकीकरण गर्ने घोषणा गरे । दसैँ लगत्तै अनपेक्षित रुपमा घोषणा भएको वाम तालमेलले नेपालको आन्तरिक राजनीतिक वृत्तमा मात्र नभइ छिमेकी देशसम्म हलचल ल्यायो । एमाले र माओवादी केन्द्रको तालमेलले नेपाली कांग्रेसलाई पनि चुनावमा गठबन्धन गर्नुपर्र्ने दबाब बढ्यो । लगत्तै कांग्रेसले पनि प्रजातान्त्रिक विचारधारा भएका दलहरुका बिचमा लोकतान्त्रिक गठबन्धन बनाउने घोषणा गर्यो । नेपाली कांग्रेस सहित अरु पाँच दल लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा जाने सहमति पनि गरे ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नजिकिंदै जाँदा राजनीतिक दलले गठबन्धन बनाएर चुनावमा प्रतिष्पर्धा गर्ने तयारी गरिरहेका छन् । थ्रेसहोल्डको कारण अस्तित्व जोगाउन साना दललाई ठूला दलसँगको सहकार्य अनिवार्य छ । विघटित रुपान्तरिक संसदमा प्रतिनिधित्व गर्ने २९ दल आउँदो चुनावमा एक्लै प्रतिष्पर्धा गर्ने आँट गर्ने सकेका छैनन् । राष्ट्रिय पार्टी हुनका लागि प्रत्यक्ष चुनावमा एक सिट अनिवार्य जित्नैपर्ने भएका कारण साना दल चुनावमा एक्लै जान डराएका छन् ।

संविधानसभा चुनावमा प्रत्यक्षतर्फ चुनाव जित्ने दल ८ वटा मात्रै थिए । अरु समानुपातिक चुनावबाट प्रतिनिधित्व गरेका दल थिए । तर, अब पहिलोको जस्तो २३ हजार भोट ल्याउने पार्टीले समानुपातिकमा सिट कायम गर्ने अवस्था छैन । कम्तिमा सदर मतको तीन प्रतिशत भोट नल्याउने दल समानुपातिक सिट पाउने सूचीमै पदैनन् ।

अर्कोतर्फ राष्ट्रिय दल हुनका लागि समानुपातिकतर्फ तीन प्रतिशत र  प्रत्यक्षमा एक सिट जित्नैपर्ने कानुनी व्यवस्था छ । यसकारण पनि साना दललाई ठूला दलसँगको चुनावी सहकार्य अपरिहार्य छ । मुख्य दललाई पनि संघ र प्रदेशमा बहुमत ल्याएर पाँच वर्षसम्म सरकार चलाउने रहर र प्रतिस्पर्धा छ । यसकारण पनि मुख्य दल नै चुनावी तालमेल र एकीकरणसम्मको अभियानमा लागेका हुन् ।

‘नेपाली राजनीतिमा नहुने केही छैन’ दलका नेताले भन्दै आएको भनाई र हुँदै आएको राजनीतिक घटनाक्रम पनि यही नै हो । पछिल्लो समय दलले गरेको तालमेल र एकीकरणसम्मको घोषणा पनि यसैको उदाहरण हो । चर्चा एउटै कुराको थियो, तालमेल र एकीकरणको घोषणा कहिलेसम्मका लागि ? दल आफ्नो स्वार्थका लागि मात्रै तालमेल र एकीकरणको घोषणा गरेका हुन् वा साँच्चिकै देशका लागि ? यो आम नागरिकको प्रश्न थियो ।

नागरिकले लख काटेको एउटै उत्तर थियो, दलले आफ्नो स्वार्थका लागि जे पनि गर्छन्, वाम तालमेल पनि चुनाव सम्मका लागि हो एकीकरण हुनै सक्दैन । नागरिकको बुझाईलाई नयाँ शक्ति पार्टीले सहि साबित गरिदिएको छ । सशक्त पार्टी निर्माण र स्थायी सरकार बनाएर नेपालको विकासमा योगदान पुर्याउने घोषणा गरेर नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाटै चुनाव लड्ने घोषणा गरेको नयाँ शक्ति पार्टी सिट बाँडफाँडमा कुरा नमिलेपछि वाम तालमेलबाटै बाहिरिने निर्णयमा पुगेको छ ।

लोकतान्त्रिक गठबन्धनमा पनि सिट बाँडफाँडको कुरा टाउको दुखाई भएको छ । तराईमा राम्रो अवस्थामा रहेको नेपाली कांग्रेस अनि तराई केन्द्रित राजनीति गरेका दल संघीय समाजवादी र राजपाले तराइमा कति सिट लिएर चुनाव लड्ने भन्ने कुरामा कुरा मिल्न सकेको छैन । लोकतान्त्रिक गठबन्धनमा सहभागी दलले कांग्रेसले सोचेको भन्दा धेरै सिटको दावी गरेपछि कांग्रेसभित्र तालमेल नै नगरी चुनावमा लड्नुपर्ने आवाज पनि उठेको छ ।

तराईका जिल्लामा मात्र ५५ सिट मागेपछि कार्यदल बनाएर सहकार्यको छलफलमा जुटेका दलबीच संवाद नै अवरुद्ध भएको छ । यसकारण लोकतान्त्रिक गठबन्धन धरापमा परिसकेको छ । लोकतान्त्रिक गठबन्धनमा सहभागी मधेश केन्द्रित संघीय समाजवादी र राजपाले पनि चुनावमा सहकार्य गर्ने भनेपछि लोकतान्त्रिक गठबन्धनको भविष्यमा प्रश्न उठेको हो ।

कम्युनिष्ट पार्टी भएपनि फरक विचारधारा बोकेका र तल्लो तहसम्म आफ्नो मुख्य प्रतिस्पर्धी सम्झने एमाले र माओवादी केन्द्रलाई मुख्य टाउको दुखाई उनीहरुका कार्यकता हुने धेरैले अनुमान लगाएका छन् । तर, नेकपा एमाले नेता रविन्द्र अधिकारी यो कुरा मान्न तयार हुनुहुन्न । ‘वाम तालमेल जुन तामझामका साथ भएको थियो यो अझै बलियो हुँदै गएको छ । भित्रभित्रै जग बलियो बनाउन गठबन्धन लागिपरेको छ’ उहाँले भन्नुभयो, ‘तालमेलको कुराले कार्यकर्तामा उत्साह थपिएको छ, यसलाई एकिकरणसम्म लानको लागि सबै लागिपरेका छौं । ’

नयाँ शक्ति पार्टीले भने आफूहरु गठबन्धनबाट नबाहिरिएको तर चुनावमा आफ्नै पार्टीको चुनाव चिन्ह आँखाबाट लड्ने संयोजक बाबुराम भटट्राईका स्वकीय सचिव विश्वदिप पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘हामीहरु अहिले वाम गठबन्धनमा नै छौं, तर चुनावी तालमेलको सवालमा हामीले सबै पार्टीसँग खुल्ला गरेका छौ । जोसँग पनि हाम्रो चुनावी तालमेल हुन सक्छ ।’

वाम विश्लेषक श्याम श्रेष्ठका अनुसार दुई ठूला घटक शक्तिबिचको तालमेल र एकता आफैंमा चुनौतिपूर्ण छ । यो तालमेललाई लामो समयसम्म टिकाउनका लागि नेतृत्व लचकदार हुनुपर्ने उहाँको भनाइ छ  ।

‘दल एक ठाउँमा हुन नसक्नुको प्रमुख कारण बाँडफाँडमा चित्त नबुझनु नै हो, ठूलो शक्तिले सानोलाई माया देखाउने र सानोले ठूलो शक्तिको सम्मान गरेर फराकिलो छाती पार्न सके तालमेल एकतासम्म पुग्न सक्छ, यसमा नेकपा एमालेको धेरै ठूलो हात देखिन्छ’ श्रेष्ठले भन्नुभयो ‘स्थानीय चुनावको ताजा परिणामलाई आधार मानेर माओवादी र एमालेले सिट बाँडफाँड गर्ने र आफनो छुट्टै स्थान खोजेको नयाँ शक्तिलाई पनि सम्मानजनक ढंगले साथमा लिएर अगाडि बढन सके यो तालमेल एकतामा परिणत हुनसक्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?