सर्वोच्चको आदेशविरुद्ध प्रचण्ड र ओलीको चार बुँदे संयुक्त विज्ञप्ति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ९, २०७४
|
|
१७ पटक हेरिएको
Shares
सर्वोच्चको आदेशविरुद्ध प्रचण्ड र ओलीको चार बुँदे संयुक्त विज्ञप्ति

सारांश

  • काठमाडौं : सर्वोच्च अदालतले मतपत्रका विषयमा बुधबार गरेको आदेशविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन्।
  • वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका शीर्ष दुई दलले बिहीबार नयाँ बानेश्वरमा संयुक्त पत्रकार सम्मेलन गरेर संयुक्त विज्ञप्ति सार्वजनिक गरेका हुन्।
  • सर्वोच्चले प्रतिनिधिसभा र प्रदशेसभा निर्वाचनमा प्रत्यक्षतर्फ अलगअलग मतपत्र छाप्न ‘बाध्यकारी’ रहेको जनाउँदै त्यस विषयमा भएको प्रगतिबारे तीन दिनभित्र लिखित जवाफ पेस गर्न बुधबार निर्वाचन आयोगलार्इ आदेश दिएको थियो।

काठमाडौं : सर्वोच्च अदालतले मतपत्रका विषयमा बुधबार गरेको आदेशविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन्। वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका शीर्ष दुई दलले बिहीबार नयाँ बानेश्वरमा संयुक्त पत्रकार सम्मेलन गरेर संयुक्त विज्ञप्ति सार्वजनिक गरेका हुन्। सर्वोच्चले प्रतिनिधिसभा र प्रदशेसभा निर्वाचनमा प्रत्यक्षतर्फ अलगअलग मतपत्र छाप्न ‘बाध्यकारी’ रहेको जनाउँदै त्यस विषयमा भएको प्रगतिबारे तीन दिनभित्र लिखित जवाफ पेस गर्न बुधबार निर्वाचन आयोगलार्इ आदेश दिएको थियो।

विज्ञप्तिमा मंसिर १० र २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई प्रभावित पार्ने विषयमा आएको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। प्रचण्ड र ओलीले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा प्रमुख चार बुँदा उल्लेख गरिएको छ।

–निर्वाचनका लागि कुनै पनि किसिमको भ्रम र अन्योल हुनु हुँदैन। निर्वाचनमा अवरोध हुनु जनताको मतदान गर्ने अधिकारमाथिको हस्तक्षेप हो,

–मतपत्रका सम्बन्धमा अनावश्यक विवादमा नअल्झिई निर्वाचनको तयारीमा सबै एकजुट हुनुको विकल्प छैन। मतपत्र छपाइको कार्य अगाडि बढिसकेकाले यसलाई रोक्ने वा अवरोध गर्ने कुरा जनतालाई स्वीकार्य हुँदैन,

–माघ सात गते अगावै निर्वाचनको सम्पूर्ण प्रक्रिया सम्पन्न गरेर संसद्ले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउनुपर्ने संवैधानिक बाध्यता भएकाले निर्वाचन सार्नु उपयुक्त हुँदैन,

–निर्वाचन अयाोग लगायत सबैलाई निर्वाचनको जारी प्रक्रियालाई बिना अवरोध अगाडि बढाउन आग्रह गर्दछौँ।

यसअघि नै एमालेको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति सार्वजनिक गरिसकेको छ भने बिहीबार नै एक कार्यक्रममा बोल्दै प्रचण्डले चुनाव विथोलिए संसद् ब्युँतिले चेतावनी दिएका थिए ।

कारण देखाउ आदेशले चिसो पस्योः संसद रोकिएको मात्र हो, माघ ७ गतेसम्म हेक्का राख्नुपर्छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनका लागि छापिएको मतपत्रबारे सर्वोच्च अदालतको आदेशले आफूहरुलाई चिसो पसेको बताएका छन् ।

निर्वाचनबारे आफूहरुको धारणा सर्वाजनिक गर्न एमाले र माओवादी केन्द्रले काठमाडौंमा विहीबार पत्रकार सम्मेलनमा प्रचण्डले सर्वोच्चको आदेशले आफूहरुलाई चिसो पसेको बताए ।सर्वसहमतिमा नै निर्वाचन आयोगलाई यसरी नै मतपत्र छाप्न आग्रह गरेको भन्दै प्रचण्डले प्रत्यक्ष र समानुपातिकको मतपत्र दुई वटा नै भएको तर्क गरे ।मतपत्रको विवाद समाधानका लागि विशेषज्ञसहितको कार्यदल बनाइएको र कार्यदलको सिफारिस अनुसार नै आयोगले अर्को मतपत्र सम्भव नभएको निर्णय गरेको पनि प्रचण्डले उल्लेख गरे ।

सर्वोच्चको आदेशप्रति इंगित गर्दै प्रचण्डले ‘कार्यदलप्रति सम्मान गरेर नै आयोगले अदालतलाई जानकारी दिएको बताए ।‘तर फेरि त्यही विषयलाई लिएर अदातले कारण देखाउ आदेश दिएपछि हामीलाई चिसो पस्यो’, प्रचण्डले भने, ‘यस्तो नहोस् । तोकिएको समयमै निर्वाचन हुनुपर्यो भनेर नै पत्रकार सम्मेलन गरिएको हो ।’

दलहरुबीच एक मतले नै मतपत्र यसरी लैजादा नै प्राविधिक रुपमा सजिलो हुन्छ भनेर निर्वाचन आयोगलाई आग्रह गरेको प्रचण्डले दाबी गरे ।

‘संसद स्थगित मात्रै हो’

प्रचण्डले सर्वोच्चको आदेशले आफूहरुलाई चिसो पसेको उल्लेख गर्दै उम्मेदवार मनोनयन प्रक्रिया शुरु भएपछि संसद स्थगित भएको बताए ।
बन्दसूचि पेश गरी निर्वाचन प्रक्रिया शुरु भएकाले सभामुखले संसद स्थगित मात्रै गरेको भन्दै प्रचण्डले निर्वाचन सार्ने षड्यन्त्र भए संसद पुनस्र्थापना गर्ने स्पष्ट संकेत गरे ।

‘निर्वाचन प्रक्रिया शुरु भएकै कारणले संंसद स्थगित गरिएको हो । सभामुखले स्थगित भन्नु भएको छ,’ प्रचण्डले भने, ‘निर्वाचनमा ब्यवधान गर्न खोज्दा माघ ७ गतेसम्म हेक्का राख्नुपर्छ भन्ने पनि हो ।’

निर्वाचन प्रक्रिया शुरु भएकैले मात्र संसद भंग भएको बताएका प्रचण्डले त्यसलाई पुनः सच्चाउँदै संसद रोकिएको उल्लेख गरे । पत्रकारहरुको जिज्ञासामा प्रचण्डले पटक पटक दोहोर्याए–‘मनोनयनको प्रक्रिया शुरु भएकैले मात्र संसद रोकिएको हो ।’ प्रचण्डले देशलाई गाह्रो नपरोस् भनेर नै आफूहरु दुःखका साथ सरकारमा रहेको पनि बताए ।

मतपत्र दुइटै छ, निर्वाचन सर्दैन

एमाले माओवादीले बिहिबार गरेको संयुक्त पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले दलहरुकै सहमतिमा एउटै मतपत्र  बनाउने सहमति भएको भन्दै मतपत्रलाई लिएर बाहिर आएका समचारहरु आफूहरुलाई स्वीकार्य नहुने बताएका हुन् ।

अध्यक्ष ओलीले पत्रकार सम्मेलनमा भने, ‘कुनै हालतमा निर्वाचन सर्दैन । निर्वाचन नै नसर्ने हुनाले त्यसपछि के हुने भन्ने कुरा भन्न जरुरी भएन ।’

अध्यक्ष ओलीले जनतामा सार्वभौमसत्ता कायम रहेको पनि बताए । उनले सरकारले निर्वाचन सार्ने चलखेल गरिरहेको भन्ने समचारले जनमानसमा अन्योल सिर्जना भएकाले सबैको ध्यानाकर्षण गर्न पत्रकार सम्मेलन गर्नुपरेको पनि बताए ।उनले भने ‘मतपत्र दुईटै छ । दुईवटा मतपत्र संविधान बमोजिम नै तय गरिएको हो । त्यसैले अहिले स–साना कुरामा अल्झिने कुरा छैन ।’

ओलीले मतपत्र दुईवटा चाहियो भनेर सर्वोच्चमा निवेदन दिने निवेदक सत्तापक्षीय पार्टीकै सहमहामन्त्री भएको र मानहानी भएको भन्नेकुराहरु गलत रहेको धारणा राखे । उनले लोकतान्त्रिक प्रक्रियालाई अवरोध गर्न जो कसैले खोज्छ भने नेपाली जनतालाई त्यो कदापी स्वीकार्य नहुने चेतावनी पनि दिए ।पत्रकार सम्मेलनमा ओलीले लोकतन्त्र कसैले किस्तीमा दिएर नपाएको भन्दै जनताको बलिदानबाट पाएको लोकतन्त्रलाई कसैको लहडमा चलाउन नमिल्ने बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?