स्वास्थ्य मन्त्रालयमा ब्रम्हलुटः कमिसन खान हचुवामा खरिद
सारांश
- काठमाडौं, २० वैशाख।
- आम जनता सर्वसुलभ उपचार नपाएर भौतारिंदै आइरहेका छन् ।
- स्वास्थ्य परीक्षण र औषधिका लागि सरकारी अस्पतालले दिने सेवा चुस्तदुरुस्त नभएपछि निजी अस्पतालमा चर्को मूल्य तिरेर उपचार गर्नुको विकल्प सर्वसाधारणसंग छैन ।
काठमाडौं, २० वैशाख। आम जनता सर्वसुलभ उपचार नपाएर भौतारिंदै आइरहेका छन् । स्वास्थ्य परीक्षण र औषधिका लागि सरकारी अस्पतालले दिने सेवा चुस्तदुरुस्त नभएपछि निजी अस्पतालमा चर्को मूल्य तिरेर उपचार गर्नुको विकल्प सर्वसाधारणसंग छैन ।
तर, स्वास्थ्य मन्त्रालय र यस मातहतका निकाय यसमा गम्भीर हुनुको साटो कमिसनको चक्करमा लाग्ने गरेका छन् । कतिसम्म भने स्वास्थ्य मन्त्रालय र मातहतका निकायले आर्थिक उपार्जनकै लागि करोडौं मूल्यका मेसिन हचुवाका भरमा खरिद गरेको पाइएको छ । भक्तपुर अस्पतालदेखि मेची अञ्चल अस्पतालसम्मले हचुवाका भरमा मेसिन खरिद गरेर लुटतन्त्र मच्चाएका छन् ।
देशका विभिन्न अस्पतालहरूले जनशक्ति तयार नपारीकन खरिद गरिएका करोडौं मूल्यका मेसिन प्रयोजनविहीन अवस्थामा थन्किएका छन् । महालेखा परीक्षकको कार्यालयले स्वास्थ्यजस्तो संवदेनशील क्षेत्रमा अनियमित कार्य गरिएको भन्दै मन्त्रालय र मातहतका निकायको नियतमाथि गम्भीर प्रश्न उठाएको छ ।
कहाँ–कहाँ थन्किए मेसिन ?
मेची अञ्चल अस्पताल, झापामा ईएनटी माइक्रोस्कोप, सिआर्म मेसिन, फ्लेक्जिबल न्यासो फयारिसइगोस्कोपी मेसिन लामो समयदेखि थन्किएको छ । बिरामीहरू अन्य अस्पतालमा परीक्षणका लागि जान बाध्य भए पनि १ करोड २ लाख ५८ हजार मूल्यका यी मेसिन जनशक्ति नभएपछि थन्किएको हो ।
उपत्यकाबाहिर मात्रै होइन, भित्रको अवस्था पनि मोफसलमा जस्तै छ । भक्तपुर अस्पतालले आर्थिक वर्ष (आव) ०७२÷७३ मा खरिद गरेको आईसीयू उपकरण जनशक्ति अभाव देखाउँदै सञ्चालनमा ल्याइएको छैन । महालेखा परीक्षकको कार्यालयले खरिद भएका उपकरण तथा मेसिनरी तोकिएको सेवामा उपयोग नभएको भन्दै चासो प्रकट गरेको छ । शुक्रबार ट्रपिकल अस्पतालको दुःख पनि यी दुई अस्पतालको जस्तै छ ।
४ शैय्याको आईसीयू उपकरण १ करोड ९० लाख २३ हजारमा खरिद गरेको यो अस्पतालले जनशक्ति अभाव देखाउँदै थन्क्याएर राखेको छ । जबकि यस वर्ष मात्रै अस्पतालले आईसीयू अभावको कारण देखाउँदै १३२ बिरामीलाई अन्यत्र रेफर गरेको छ ।
महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदनअनुसार सगरमाथा अञ्चल अस्पतालको एड्भान्स कलर डोपलर ईको, २ थान डायलासिस मेसिन र एनेस्थेसिया मेसिन जनशक्ति अस्पतालमा नभएको भन्दै प्रयोग नगरीकन राखिएको छ । यति मात्रै होइन, प्यासेन्ट मोनिटर, कल्चर हेमाटोलोजी एनालाइजर, एक्सरे ५०० एमए, अटोमेटिक हेमाटोलोजी एनालाइजर मेसिन त भौतिक पूर्वाधार नभएको भन्दै जडान नै गरिएको छैन । महालेखाका अनुसार यी उपकरण ४८ लाख ७१ हजार मूल्यका हुन् ।
जनशक्तिको व्यवस्था नगरी मेसिन खरिद गर्दाको परिणाम धवलागिरी अञ्चल अस्पतालले पनि भोगेको छ । करिब ५९ लाख ६६ हजार मूल्यका डायलासिस मेसिन र एनेस्थेसिया मेसिन चलाउने अपरेटरको अभावमा धमिराको खजाना बनिरहेको अस्पतालले जनाएको छ ।
सर्लाही अस्पतालको अल्ट्रासाउन्ड मेसिन १ थान सञ्चालन गर्ने जनशक्तिको अभावले थन्किएको छ भने डिजिटल एक्सरे मेसिन विद्युत्त आपूर्ति नहुँदा प्रयोजनविहीन छन् ।
डायलासिसका लागि बिरामी निजीमा जान बाध्य भए पनि नारायणी उपक्षेत्रीय अस्पतालले मेसिन सञ्चालनमा ल्याउन सकेको छैन । अस्पतालका अनुसारस्थान अभावका कारण मेसिन जडान गर्न नसकिएको हो ।
केही अस्पतालले भएका उपकरण सञ्चालन गर्न सकेका छैनन् भने केहीले बिग्रिएका नबन्दा सकस झेल्दै आइरहेका छन् । यस्तो समस्या झेल्नेमध्येको एक हो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान । प्रतिष्ठानको अटोक्लेभ १, एक्सरे मेसिन १ र सिटी स्क्यान मेसिन बिग्रिएर थन्किए पनि मर्मत हुन सकेको छैन ।
भेरी अञ्चल अस्पतालको ईको कार्डियोग्राफी र एक्सरे मेसिन मर्मत अभावकै कारण ६ महिनादेखि सञ्चालनमा छैन भने क्षेत्रीय अस्पताल सुर्खेतको यालासिस मेसिन पानी फिल्टर गर्ने मेसिनको अभावमा थन्किएको छ ।
अटोक्लेभ मेसिन भने जडान भए पनि सञ्चालनमा नभएकाे साँघु साप्ताहिकमा खवर छ । गर्भवती महिलाको भीड लाग्ने थापाथली अस्पतालमा झण्डै आधा दर्जन मेसिन मर्मत अभावमा प्रयोजनविहीन छन् । अस्पतालका अनुसार, बेबी इन्क्युवेटर २ थान, एक्सरे मेसिन १ थान, यूएसजी मेसिन १ थान, बेड साइड मोनिटर २, ओटी टेबल १ र फोटो थेरापी मर्मत हुन नसकेका उपकरण हुन् । उपकरण अभावमा सेवाग्राहीले असुविधा झेले पनि मर्मत तर्फ चासो नगएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
महालेखाले सोध्यो– हचुवाको भरमा खरिद किन ?
पूर्वाधार तयार नहुँदै मेसिनरी उपकरण आपूर्ति गरेको, सञ्चालन नभई उपकरण बिग्रेकोप्रति महालेखाले गम्भीर चासो प्रकट गरेको छ ।
‘उपर्युक्तानुसार पूर्वाधार तयार नहुँदै मेसिनरी उपकरण आपूर्ति गरेको, सञ्चालन नभई उपकरणहरू बिग्रेको तथा सञ्चालनमा आई बिग्रेका मेसिन समयमै मर्मत नहुँदा सामान्य बिरामीहरू समेत रेफर गर्नुपर्ने अवस्था रहेको देखियो’, महालेखाले भनेको छ, ‘पूर्वाधार तयार नगरी मेसिनरी आपूर्ति तथा खरिद गरी प्रयोगविहीन अवस्थामा राख्नेलाई जिम्मेवार बनाउनुपर्दछ ।’
Justin Biral
? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? SURAJ-KING,TK ?