पौष २७ गते पत्रपत्रिकाहरुबाट छापिएका मुख्य समाचारहरु
सारांश
- आजको नयाँपत्रिकामा छापिएका मुख्य समाचारहरु : भारत लैजाँदै गरेका २० बालबालिकाको उद्धार जुम्ला,२७, पुस गैरकानुनी रुपमा भारतको हिमाञ्चल प्रदेशमा लामा भाषा पढाउने भन्दै बसमा लैजाँदै गरेको अबस्थामा २० बालबालिकाको प्रहरीले उद्धार गरेको छ ।
- प्रहरीले पुस २५ गते तिला गाउँपालिकाको कुडारीबाट उद्धार गरेको हो ।
- बालबालिकाले खचाखच भरिएको बसलाई प्रहरीले चेकजाँच गर्दा भारततिर लैजाने कुनै आधार नभेटिएपछि नियन्त्रणमा लिएर बालबालिकाको उद्धार गरेको हो ।
आजको नयाँपत्रिकामा छापिएका मुख्य समाचारहरु :
भारत लैजाँदै गरेका २० बालबालिकाको उद्धार
जुम्ला,२७, पुस
गैरकानुनी रुपमा भारतको हिमाञ्चल प्रदेशमा लामा भाषा पढाउने भन्दै बसमा लैजाँदै गरेको अबस्थामा २० बालबालिकाको प्रहरीले उद्धार गरेको छ ।
प्रहरीले पुस २५ गते तिला गाउँपालिकाको कुडारीबाट उद्धार गरेको हो । बालबालिकाले खचाखच भरिएको बसलाई प्रहरीले चेकजाँच गर्दा भारततिर लैजाने कुनै आधार नभेटिएपछि नियन्त्रणमा लिएर बालबालिकाको उद्धार गरेको हो ।
गैरकानुनी रुपमा जिल्ला बाहिर लैँजादै गरेको आरोपमा पातारासी गाउँपालिका ३ का २९ वर्षीय छिरिङ तुण्डुक तामाङ र सोही वडाका ३२ बर्षीय कार्मा तामाङलाई पक्राउ गरी अनुसन्धान गरिएको प्रहरी निरिक्षक चुडामणि पुनले बताए ।
लामा भाषा पढाईदिने भनेर अभिभावकलाई आश्वासनमा पारेर उनीहरुले बालबालिकालाई भारत लैजान लागेको अवस्थामा बसलाई नियन्त्रणमा लिई बालबालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक पुनले बताए । उनका अनुसार उद्धार गरिएका बालबालिका ७ देखि १४ वर्ष उमेर समूहका छन् ।
एउटै बसमा धेरै बच्चा लैँजादै गरेको देखे पछि सोधपुछ गरेर प्रहरीले पक्राउ गरेको हो । निरिक्षक पुनका अनुसार दुई जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ । बालबालिकालाई प्रहरीको निगरानीमा होटलमा राखिएको छ । यो खबर आजको नयाँपत्रिकाले छापेको छ ।
आजको कारोबारमा छापिएका मुख्य समाचारहरु :
नेपालीले २२ अर्ब कुलतमै सक्छन्
लागूपदार्थका दुर्व्यसनीले बर्सोनी २२ अर्ब रुपैयाँधन्दा बढी रकम कुलतमा फसाउने गरेका छन् । आजको कारोबारमा यो खबर छ ।
गाँजा/चरेस, हेरोइन तथा फर्मास्युटिकल ड्रग्सका दुर्व्यसनीले दैनिक खर्च गर्ने रकमको अनुपात बार्षिक २२ अर्बभन्दा बढी हुने गरेको पाइएको अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकारीहरु बताउँछन् ।
यो रकम सुधार गृहमा उपचाररत दुर्व्यसनीको खर्चबाहेकको हो ।
सुधार गृहमा भएका दुर्व्यसनीको लागि अविभावकले मासिक २ करोडदेखि ३ करोड रुपैयाँसम्म खर्च गर्छन् ।
सुधार गृहमा उपचाररत एक जना दुर्व्यसनीले त्यहाँको सेवा सुविधा हेरेर न्यूनतम १५ हजारदेखि २० हजारसम्म खर्च गर्दै आएका छन् ।यो खबर आजको कारोबारले छापेको छ ।
आजको नेपाल समाचारपत्रमा छापिएका मुख्य समाचारहरु :
अब कहाँ गर्ने पार्किङ ?,राजधानीका भित्री शहरमा पार्किङ निषेध !
काठमाडौं महानगरपालिकाले भित्री क्षेत्रमा चार पाङ्ग्रे सवारी साधनलाई पार्किङ निषेध गर्ने भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा खबर छ ।
आउँदो माघ २ गतेदेखि लागू हुने गरी कामपाका ७ वटा वडाका १२ क्षेत्रलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरेको हो ।
अब राजधानीको कोर क्षेत्र प्रवेश गर्ने चार पाङ्ग्रे सवारी साधन खुलामञ्चमा पार्किङ गर्नुपर्ने व्यवस्था गरेको छ ।
शहरी सौन्दर्यतालाई कामय राख्न र पर्यटकलाई नेपालको कोर सिटीका बारेमा जानकारी दिन चार पाङ्ग्रे सवारी साधनलाई बिहान ७ देखि बेलुकी ७ बजेसम्म निषेधित गरेको हो ।यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।
आजको नगरिकदैनिकमा छापिएका मुख्य समाचारहरु :
फेरि सुरु भयो चलखेल आइओएम डिनमा
सम्बन्धन र कलेजमा सिट निर्धारणका लागि हुने चलखेलका कारण अस्थिर बनेको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिन नियुक्तिमा सर्वोच्च अदालतको फैसलाको आडमा फेरि नयाँ नियुक्तिका लागि चलखेल सुरु भएको छ ।
चार बर्षदेखि बर्खास्तीमा परेर चार दिन कार्यकाल बाँकी रहेका पूर्व डिन डा. शशी शर्माको पदावधीसमेत सकिन एक दिन बाँकी रहँदा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी फेरी आफूअनुकुलको डिन ल्याउने चलखेलमा देखिएका छन् ।
डा. शर्माको कार्यकाल बिहीबार सकिँदैछ ।
यसबीचमा अदालतले शर्माको पूनर्बहालीसँगै अर्का डिन डा. जगदीश अग्रवालको नियुक्ति समेत कानुनसम्मत ठहर गरे पनि त्रिवि पदाधिकारीले पूरानोको पूनर्बहालीसँगै अग्रवालको प्रतिस्थापन भएको अर्थ लगाएका छन् ।
त्रिवि उपकुलपति डा. तीर्थ खनियाँले एकै पटक दुई डिन हुन नसक्ने भन्दै सार्वजनिक रुपमै डा. (https://hippainhelp.com/) अग्रवालको ठाउँमा नयाँ डिन नियुक्ति गर्ने बताइसकेका छन् ।यो खबर आजको नागरिक दैनिकमा छ ।
आजको नयाँपत्रिकामा छापिएका मुख्य समाचारहरु :
चार बरिष्ठ अधिबक्ताको यस्तो छ तर्क :डा. केसी अनशनमा
चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा. गोविन्द केसीले अदालतबाट तारेख पाए पनि अनशन जारी राखेका छन् ।
सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई कारबाही गर्न र डिन डा. शशि शर्माको पुनर्बहाली खारेज गर्नुपर्ने माग राख्दै अनशनमा बस्दै आएका केसी अस्पताल र अदालतको चक्करमा छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
सर्वोच्च अदालतबाट बुधबार साँझ साधारण तारेखमा रिहा भएलगत्तै डा. केसी पुरानै अनशनस्थल शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए ।
उनलाई प्रहरीको कडा सुरक्षाबीच प्रहरी एम्बुलेन्समा राखेर ७ः३० बजे अनशनस्थल पुर्याइएको थियो । केसीका सहयोगी डा. जीवन क्षेत्रीका अनुसार अनशनस्थलमा केहीबेर अब कसरी अगाडि जाने भन्नेमा आन्तरिक छलफल भयो ।
क्षेत्रीले भने, ‘प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रमाणपत्र छानबिन गर्न सर्वोच्चले आदेश दिएको छ । यो सकारात्मक पक्ष हो । केसीको मागअनुसार सत्यतथ्य छानबिन हुनुपर्छ ।’
बरिष्ठ अधिबक्ता सुरेन्द्र भण्डारी
प्रधानन्ययाधीसले नागरिकतामा किर्ते गरेका छन् यस विषयमा छानविन हुने कि नहुने, बरिष्ठ अधिबक्ता भण्डारीले भने, ‘सम्मानित पदमा पुगेको मान्छेको शैक्षिक प्रमाणपत्रको कुरा उठिरहेका बेला सर्वोच्चले छानविन समिती गठन गरेर निलम्बन किन नगर्ने ?
बिभिन्न समाचारमा मेडिकल माफियाको विषय आएको हुदाँ अब प्रधानन्यायाधीसलाई निलम्बन गरेर कागजपत्रको छानविन किन नगर्ने, उनले ईजलास समक्ष भने, ‘ म गोबिन्द केसीले प्रधानन्यायाधीस गोपाल पराजुली माथी लगाएको आरोप यस आधारमा पुष्टि गर्छु कि भ्रष्ट्र सर्वोच्चका मुख्य रजिष्ट्रार नहकुल सुबेदीलाई एक वर्षमा तीन तह बढुवा कसरी भयो ?
माफियाको अर्थ मेडिकल कलेजलाई धमाधम स्वीकृति दिनु माफियाको स्वार्थमा काम गरेको हो कि होईन? र अपराध उहाँ(प्रधानन्यायाधीस) ले दुई थरी नागरिकता पेश गरे, उमेर सच्चाए अनि शैक्षिक प्रमाणपत्र नक्कली बुझाए । यस कारण आधार सहित पुष्टि गर्दछु ।
श्रीहरी फुयाँल (बरिष्ठ अधिबक्ता)
स्वच्छ न्याय दिने भनेको न्यायालय माथी भ्रष्ट्रचार भयो भनी प्रश्न उठेपछि भ्रष्ट्रचार छ कि छैन भनेर भनिरहनुपर्छ ।
न्यायालयले गर्ने आदेश माफियाको पक्षमा हुनुलाई भ्रष्ट्रचार नभनेर के भन्ने । अदालतको आदेश किन बिबादित बन्यो छानबिन हुन जरुरी छ । चिकित्सक केसीलाई अभिव्यक्तिका कारण मानहानी भनेर पक्राउ गर्नु न्यायोचित देखिदैन ।
एकराज भण्डारी (बरिष्ठ अधिबक्ता)
न्यायाधीस आफैले भ्रष्ट्रचार छ भनेर स्वीकाछन् । न्यायालय भ्रष्ट्र छ भन्दा फेरी किन आपत्ती जनाउनुपर्यो । सार्वजनिक कार्यक्रममा न्यायाधीसको मुखराबृन्दबाट न्यायालयको भ्रष्ट्रचार उन्मुलन गर्नुपर्छ भन्नु भ्रष्ट्रचार छ भन्नु होईन र ।
भ्रष्ट्रचारको विषयमा बोल्ने कोही थिएनन अहिले उक्त विषय डा.गोबिन्द केसीले उठाए । अब पश्न गर्ने ठाउँ धेरै छन् अब अदलतको भ्रष्ट्रचारको विषयमा छानविन हुन जरुरी छ । सर्वोच्च अदालतको नियमावली अनुसार एक विशेष समिती गठन गरेर भ्रष्ट्रचारको विषयमा छलफल किन नगर्ने?
गोपाल शिवाकोटी (चिन्तन) बरिष्ठ अधिबक्ता
भ्रष्ट्र न्यायाधीस अदालतमा बस्न मिल्छ कि मिल्दैन प्रश्न अब उठिसक्यो । प्रधानन्यायाधीस गोपाल पराजुलीको एसएलसि प्रमाण पत्र नक्कली भएको विषयमा छानविन किन नगर्ने?
प्रधानन्यायाधीसको निलम्बन गरेर छानबिन समितीले छलफल गर्नु जरुरी छ । गोबिन्द केसीलाई मात्रै छानेर अदालतको मानहानीको मुद्धा लगाईयो । यहाँ त हजारौले अदालतको आदेशका विरुद्ध बोलेका छन् सबैलाई मानहानी लगाए भयो नि ?यो खबर आजको नयाँपत्रिकाले छापेको छ ।
उनका पछिल्ला मागले सिर्जना गरेको प्रतिक्रिया :आफै बहसमा डा. केसी
सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई कारबाही गर्न र डिन डा। शशि शर्माको पुनर्बहाली खारेज गर्नुपर्ने माग राख्दै अनशनमा बस्दै आएका डा. गोविन्द केसी अस्पताल र अदालतको चक्करमा छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
आफै बहसमा डा. केसी
अदालत तर्फबाट श्याम खरेलले न्यायालयलाई गिरोह भनेर डा. केसीले अदालतकै मानमर्दन गरेको बताए । ‘सरकारी जागिर खाएका चिकित्सक डा. गोविन्द केसीले बिदा नलिई अनशन बस्नुलाई के भन्ने ?’ वरिष्ठ अधिवक्ता खरेलले प्रश्न गर्दा केसी आवेगमा आइसकेका थिए ।
अदालततर्फबाट बहस सकिएपछि तत्कालै चिकित्सक गोविन्द केसीले इजलाससमक्ष आफ्नो कुरा राख्ने बताए । जुरुक्क उठेर केसीले भने, ‘मैले अस्पतालमा बिदा लिएँ कि लिइनँ भन्ने कुरा को प्रश्न उठाउने ? बुझ्नुस्, मैले अस्पतालमा बिदा लिएर अनशनमा बसेको छु । जथाभावी बोल्ने ?’
न्यायाधीश पुरुषोत्तम भण्डारीले बिरामी हुनुहुन्छ जस्तो छ भन्दै बिस्तारै बोल्न आग्रह गरे । डा. केसीले धाराप्रवाह रूपमा भने, ‘प्रधानन्यायाधीशविरुद्ध मैले विज्ञप्ति निकालेको हुँ, म जिम्मेवारी लिन्छु, प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट हुन्, माफिया हुन् । अदालतको मानहानि मैले होइन प्रधानन्यायाधीश पराजुलीले गरेका छन् । म १-२ महिना होइन, ५ वर्ष जेल बस्न तयार छु ।’
इजलास नै परिवर्तन
चिकित्सक गोविन्द केसीलाई मंगलबार सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा उपस्थित गराएर बयान लिइएको थियो । तर, बुधबार भने न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको ईजलासमा प्रस्तुत गरियो ।
बहसको शुरुमा डा. गोबिन्द केसीका वकिल सुरेन्द्र भण्डारीले ईजलास किन परिवर्तन भनेर प्रश्न उठाएका थिए । सर्वोच्चमा पहिला पनि यस्तै नजिर भएको जवाफ न्यायाधीसले दिएका थिए ।
समान्यत हेर्दा हेर्दै मुद्धामा जुन न्यायाधीसले बयान लिएको हो सोही न्यायाधीसको ईजलासमा बहस गरेर मुद्धाको किनारा लगाईन्छ । तर, अदालतले भने बयान र बहस फरक ईजलासबाट गरेका छन् ।
माग : पदीय मर्यादाविपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाउने प्रधानन्यायाधीश गोपाल पराजुलीद्वारा पदबाट राजीनामा गरियोस् । उनका भ्रष्ट क्रियाकलापमाथि छानबिन र कारबाही गरियोस् ।
सम्बाेधन : र्वोच्चले बुधबार प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र एसएलसीको सर्टिफिकेट उपलब्ध गराउन आदेश जारी गरेको छ ।
माग : आइओएमका डिनमा विधिवत् रूपमा वरिष्ठताका आधारमा नियुक्त भएका व्यक्तिलाई कायम गरियोस् । माफिया डिनको पुनर्बहाली तुरुन्त खारेज गरियोस् ।
सम्बाेधन : डिन शशि शर्माको ४ वर्षे कार्यकाल बिहीबार २८ गते सकिने भए पनि उनले बुधबारबाट डिन पद छाडेका छन् ।
माग : मेडिकल माफियासितको मिलेमतोमा अवैध रूपमा खाली भवनलाई सम्बन्धन दिने, आइओएमको अधिकार नाजायज रूपमा खोसेर दुरुपयोग गर्ने तथा दलीय भागबन्डाबाट नियुक्त भएका त्रिवि पदाधिकारीलाई बर्खास्त गरियोस् ।
सम्बाेधन : काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन सरकारले खारेज गरेको छ, तर मुद्दा अदालतमा छ ।
माग : चिकित्सा शिक्षा आयोग तत्काल गठन गरियोस् ।
सम्बाेधन : चिकित्सा शिक्षा विधेयक पास भएको अवस्थामा केही समयपछि आयोग गठन हुने प्रक्रियामै रहेको ।
माग : कार्यरत नर्स तथा विद्यार्थीका लागि नयाँ आवास तथा छात्रवासको व्यवस्था होस्, अडिटोरियम हल र परीक्षाहलसहित उपयुक्त क्षमताका क्याम्पस भवनको निर्माण गरियोस् । पुस्तकालय चौबिसै घन्टा र सातै दिन खुला राख्ने व्यवस्था होस् ।
सम्बाेधन : भवन निर्माण हुने तयारीमा छ ।
माग : अस्पतालको औषधि पसल विस्तार र सही व्यवस्थापन गरेर अस्पतालमा आएका सबै बिरामीलाई सस्तो र गुणस्तरीय औषधि उपलब्ध गराउने व्यवस्था होस् ।
सम्बाेधन : हाल अस्पताल फार्मेसी सञ्चालनमा छ, त्यसलाई थप विस्तार गर्ने तयारीमा अस्पताल लागेको छ ।यो खबर आजको नयाँपत्रिकाले छापेको छ ।
आजकोअन्नपुर्णपोष्टमा छापिएका मुख्य समाचारहरु :
गर्न थाले बार्गेनिङ :मन्त्रीको आँखा नियुक्तिमा
संघीयता कार्यान्वनयका महत्त्वपूर्ण काम थाती राखेर सरकारकार मन्त्री नियुक्तिमा व्यस्त हुन थालेका छन् । विभिन्न मन्त्रालय मातहतका सार्वजनिक संस्थान तथा निकायमा राजनीतिक नियुक्ति दिलाउने भन्दै मन्त्रीहरूले ‘बार्गेनिङ’ गरिरहेका छन् ।
विभिन्न मन्त्रालयले आफूमातहतका निकायका कार्यकारी प्रमुख, महाप्रबन्धक तथा सदस्यसचिव नियुक्त गर्न १५ दिने सूचना जारी गर्नुपर्ने प्रावधानलाई मिचेर सातदिने सूचना प्रकाशन गर्दै आफू निकटलाई नियुक्ति दिलाउन प्रयास थालेका छन्। मन्त्रीहरूले आफूनिकटका व्यक्तिको सूची दिँदै नियुक्तिसम्त्रन्धी प्रस्ताव तयार पार्न मन्त्रालयका सचिव, सहसचिवलाई निर्देशन दिन थालेपछि प्रशासनिक अधिकारी तनावमा छन् ।
कतिपय मन्त्रीले सचिवलाई बाइपास गर्दै सहसचिवबाट काम लिन थालेका छन्। पर्यटन मन्त्रालयअन्तर्गत विभिन्न निकायमा राजनीतिक नियुक्ति दिलाउन कांग्रेसका नेताद्वय रामचन्द्र पौडेल र विमलेन्द्र पौडेललगायतको सूची मन्त्रालयमा पुगेको छ ।
कांग्रेसका नेता पौडेलले देवघाट क्षेत्र विकास समितिको सदस्यसचिवमा आफूनिकट पूर्ण कुँवरलाई नियुक्त गर्न पर्यटनमन्त्री जितेन्द्रनारायण देवसमक्ष सिफारिस गरेका छन् भने निधिले बृहत्तर जनकपुर विकास समितिको अध्यक्षमा आफूनिकट शालिकराम सिंहलाई नियुक्त गर्न सिफारिस गरेका छन् ।
मन्त्री देवले दुवै नेताको सिफारिसअनुसार नियुक्ति प्रक्रिया अगाडि बढाएका छन् । त्यस्तै, मन्त्री देव आफैंले लुम्बिनी विकास कोषको सदस्यसचिवमा पूर्व डीआईजी हेम गुरुङलाई नियुक्त गर्न प्रक्रिया अघि बढाएका छन् ।
पर्यटन मन्त्रालय स्रोतका अनुसार लुम्बिनी विकास कोषको सदस्यसचिव नियुक्तिमा लाखौं चलखेल भएको सूचना मन्त्रालयमा आएपछि मन्त्रालयका अधिकारी गुरुङको नियुक्ति गर्न हच्किएका छन् ।
मन्त्री देवकै रुचिअनुसार तारागाउँ विकास समितिको सदस्य सचिवमा देव थरकै आफन्तलाई नियुक्ति गर्ने गृहकार्य अघि बढाइएको छ । यो खबर आजको अन्नपूर्णपोष्टले छापेको छ ।
जाजरकोटको भाइरल प्रकोप नियन्त्रण बाहिर : १३ जनाको मृत्यु !
दुई साता यता देखि जाजरकोटका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । भाइरल ज्वरोबाट मंगलबार र बुधबार थप दुई जनाको ज्यान गएको छ ।
भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डा. पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका ३ रावलगाउँका ५४ वर्षीय लालबहादुर भण्डारीको ज्यान गएको छ । त्यस्तै जुनीचाँदे ५ टिप्ककी ६५ वर्षीया कालु तिरुवाको पनि ज्यान गएको छ ।
स्वास्थ्य शिविरमा राम्रो उपचार नपाए पछि भण्डारी निजी मेडिकलमा गएका थिए । त्यहाँ पनि उपचार हुन नसकेपछि झारफुक तिर लागेका थिए । गोठमा बस्दै आएकी कालु केही दिन देखि चिसोले थलिएकी थिइन् । उनलाई रुघाखोकी र ज्वरो आएको थियो । समयमा उपचार नपाएपछि उनको मृत्यु भएको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिले सम्म मृत्यु हुनेमा पाँच वर्ष मुनिका सात बालबालिका र ५० वर्ष माथिका ६ जना छन् । जुनीचाँदे २ मजकोटबाट सुरु भएको भाइरल प्रकोप वडा नं १, ३, ४ को कोर्ताङ, वडा नं ५ गर्खाकोट र वडा नं १० सम्म फैलिएको छ ।
शनिबार देखि भाइरल पीडितको शिविर खडा गरी उपचार गरिएको छ । शिविरमा १२ सय जनाको उपचार गरिएको छ । उपचार थालिए पनि बिरामी अझै नघटेको उपचारमा संलग्न डा. शाक्यले जानकारी दिए।यो खबर आजको अन्नपुर्णपोष्टले छापेको छ ।
कुर्सीमा बस्न नपाई बिदाइ
सर्वोच्च अदातलबाट पुनर्बहाली भएका डिन प्राडा शशि शर्मा कुर्सीमा बस्न नपनउँदै बिदा हुँदै छन् ।
पदावधि सकिन चार दिन बाँकी छँदा सर्वोच्चको आदेशले पुनर्बहाली भएका उनी हाजिर गरे पनि डिनको कुर्सीमा बस्न पाएनन् ।
डिन कार्यालयमा चिकित्सा क्याम्पस, स्वावियुले तालाबन्दी गरेको छ ।
डा. शर्माले आईटी विभागमा गई हाजिर गरिरहेका छन् ।
अदालतले चार बर्ष लामो मुद्दा किनारा लगाउँदै आइतबार उनलाई बहाली गरेको थियो ।यो खबर आजको अन्नपुर्णपोष्टले छापेको छ ।
आजको राजधानीमा छापिएका मुख्य समाचारहरु :
राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक
निर्वाचन आयोगले आगामी माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका हिजो सार्वजनिक गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मतदाता नामावली प्रकाशन माघ ७ गते हुनेछ । उम्मेदवारको मनोनयनपत्र दर्ता माघ १० गतेलाई तोकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
उम्मेदवारलाई निर्वाचन चिह्न माघ १५ गते प्रदान गरिने छ भने मतदान २४ गते बिहान १० देखि अपराह्न ३ बजे सम्म सञ्चालन हुनेछ ।
उक्त निर्वाचनको नतिजा माघ मसान्त सम्ममा सार्वजनिक हुने जानकारी दिइएको छ । स्थानीय तहका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य गरी राष्ट्रियसभा निर्वाचनका लागि दुई हजार ५६ जना मतदाता रहने छन् ।
स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखले दिने मतभार १८ रहने तथा प्रदेशसभा सदस्यले दिने मतभार ४८ हुनेछ ।
उक्त निर्वाचनका लागि उच्च अदालत रहेको जिल्लामा मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । आयोगका अनुसार, धनकुटा, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ ।यो खबर आजको राजधानीले छापेको छ ।
व्यापार घाटा दैनिक रुपमा उकालो लाग्दै
प्रभावकारी योजना निर्माण गरी त्यसलाई कार्यान्वयनमा ल्याउन नसक्दा मुलुकको व्यापार घाटा बढ्दो अवस्थामा रहेको छ । आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनको ठोस खाका बन्नै नसक्दा मुलुक माथि आयात व्यापारको भार बढ्दै गएको हो ।
सरकारी तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७४/७५ को चार महिना सम्ममा कुल वस्तु निर्यात ७ दशमलव ५ प्रतिशतले वृद्धि भई २६ अर्ब ३५ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा १७ प्रतिशतले वृद्धि भएको थियो । यस अवधिमा भारततर्फ २ प्रतिशत, चीन तर्फ ३३ दशमलव ५ प्रतिशत र अन्य मुलुकतर्फ १३ दशमलव ३ प्रतिशतले निर्यात बढेको छ ।
जुस, अलैंची, जीआई पाइप, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात व्यापारमा भने निराशा जनक स्थिति देखिएको छ ।
तथ्यांक अनुसार वस्तुगत आधारमा पशु आहार, धागो, वनस्पति घिउ, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलैंची, जीआई पाइप, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ ।
यस अवधिमा कुल वस्तु आयात १० दशमलव ८ प्रतिशतले बढेर ३३४ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८७ दशमलव ४ प्रतिशतले बढेको थियो ।
सरकारी प्रतिवेदन अनुसार यस अवधिमा भारतबाट भएको आयात १२ दशमलव २ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १७ दशमलव ४ प्रतिशतले बढेको छ भने चीनबाट भएको आयात ४ दशमलव ८ प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, एमएस बिलेट, यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने कृषिजन्य उपकरण, विद्युतीय सामान, रासायनिक मल लगायतका वस्तुहरूको आयात घटेको छ ।यो खबर आजको राजधानीले छापेको छ ।
प्रतिक्रिया