फोहरमा पनि सुन फल्छ !

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १, २०७९
|
|
२५ पटक हेरिएको
Shares
फोहरमा पनि सुन फल्छ !

सारांश

  • देउखुरी ।
  • मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ ।
  • तर मिहिनेत गर्दा बालुवामा मात्र हैन फोहरमा पनि सुन फलाउन सकिँदोरहेछ ।

देउखुरी । मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ । तर मिहिनेत गर्दा बालुवामा मात्र हैन फोहरमा पनि सुन फलाउन सकिँदोरहेछ । सडकको धुलो र नालीको फोहर सङ्कलन गरेर बहुमूल्य धातु सुन निकाल्नु बालुवामा पसिना बगाएर सुन फलाउने जस्तै हो ।

भारतको मध्यप्रदेश जवलपुर निवासी गणेश सोन्जारीले एक महिनादेखि बुटवलको मुख्य बजार अमरपथमा सडक र नालीको फोहर धुलोबाट बहुमूल्य धातु सुन निकाल्ने काम गर्दै आएका छन् । उनलाई सडकको धुलो र नालीको फोहर उठाएर त्यसबाट सुन निकाल्न निक्कै मेहनत गर्नुपर्छ ।

उनले यो काम गर्न थालेको झण्डै एक दशक भयो । उनले सुनचाँदी पसल अगाडि सडकको धुलो बढार्छन् । सडक किनाराको नालीको फोहर पनि उठाएर भाँडोमा राखेर लैजानु हुन्छ । सडकको धुलो र नालीको फोहर नजिकैको फोहर पानी बगिरहेको घोलामा लगेर मज्जाले धुन्छन् । धोएर निस्किएको बालुवालाई राम्रोसँग प्रशोधन गरेर बहुमूल्य सुन निकाल्छन् । उनको यो दैनिकीलाई पत्नी पुष्पाञ्जलिले सघाउँदै आएकी छिन् । हामी यहाँ दुई÷चार महिना जति यही काम गरेर बस्छौँ”, उनले भने, “एक सिजनमा करिब एक÷डेढ तोला सङ्कलन हुन्छ । त्यसपछि फेरि आफ्नै देशमा फर्किएर यस्तै काम गर्छौं ।”

बुटवलका अमरपथ, सङ्गमपथ र राममन्दिर लाइन, बिपी चोक क्षेत्र धेरै सुनचाँदी कारोवार हुने व्यावसायिक क्षेत्र हुन् । यहाँ सयौँको सङ्ख्यामा सुनचाँदी पसल रहेका छन् । बिहान १० बजेपछि मात्र पसल खुल्छन् तर त्यसअघि नै यो फिरन्ते समुदाय हातमा कुचो, तारका ब्रस, फलामका कराही लिएर सुनचाँदी पसल अगाडि धुलो बढारेर जम्मा गर्न व्यस्त हुन्छन् । कोही भने सडक छेउको नालीको फोहर जम्मा गर्छन् ।

त्यही धुलो माटो कराहीमा राखेर नजिकैको फोहर पानी बग्ने घोलामा लगेर मज्जाले चालेर मसिनो कण निकालेर सङ्कलन गर्छन् । भर्खरै बिहान सुनचाँदी पसल अगाडिको फोहर बढारेर पानीमा धोई बालुवा माटो चालेर एक मुठीजति धुलो निकालेका गणेशले भने, “अब यसलाई प्रशोधन गरेर सुन निकाल्छौँ, अनि पसलमा लगेर बिक्री गर्छौँ ।”

बुटवलका मुख्य बजार क्षेत्रका सुनचाँदी पसल अगाडि सडक बढारेर सुन खोज्ने काममा लागेका भारत मध्यप्रदेशका राज मुराइको काम पनि दुई महिनादेखि यस्तै चलिरहेको छ । उनीसँगै १० जनाको समूह यही कामका लागि भारतबाट बुटवलमा आएको हो । हरेक वर्ष तीन÷चार महिना यसै कामका लागि उनीहरु बुटवलमा बिताउने गर्छन् । सुन पसल अगाडिको धुलो र नालीको फोहर जम्मा गरेर पानीमा धुँदा मसिनो बालुवा निकालेर प्रशोधन गर्दा सुन निस्कने उनी बताउँछन् ।

भारतको मध्यप्रदेशबाट आएका यिनीहरु फिरन्ते समुदाय हुन् । यिनीहरु समूह बनाएर परिवारसहितै हिँड्ने र नेपाल तथा भारतका यस्तै ठूलाठूला सहरमा महिनौँ बिताउने गर्छन् । यस अवधिमा उहाँले दैनिकजसो सुन चाँदी पसल बाहिर सडक नालीबाट निस्केको माटो, बालुवा सङ्कलन गरेर नजिकैको घोलामा धोएर प्रशोधनका लागि छनोट गर्दै आउनुभएको छ । यसरी काम गर्दा दैनिकजसो एक÷दुई लालसम्म सुन फेला पर्ने गरेको मुरइ बताउँछन् । “हामी यहाँ दुई÷तीन महिना बस्छौँ । त्यसपछि आफ्नै देश फर्कछौँ”, उनले भने, “यहाँ बसुञ्जेल जेजति सुन निस्कन्छ, सबै यहीँका सुनचाँदी पसलमा बेचेर फर्कंने हो ।”

मध्यप्रदेश जवलपुरकै करिब ३५ वर्षीय विशुवा सोन्जारीको ५० जनाको समूह पनि बुटवलका मुख्य सडक, गल्ली र नालामा सुन खोज्न व्यस्त छ । बुटवलमा करिब एक महिनाको बसाइपछि स्वदेशमै फर्किएर यही काममै लाग्ने उनी बताउँछन् बताउनुहुन्छ । “पहिले जस्तो धेरै सुन पाउँदैन”, उनले भने, “मान्छे पनि धेरै भए, सुन पनि महङ्गो भयो ।”

सुन पसलको अगाडि प्रायः सुनका गरगहना बनाउने कालीगढले गहना बनाउँदा सुनलाई रेट्ने र थिच्ने काम गर्दा सुनका मसिना कणहरु कपडामा टासिने र उनीहरु आवतजानत गर्ने र फोहर बढारेर बाटोमा फाल्ने गर्छन् । माटोमा ती कणहरु खस्ने भएकाले सडक नालीको माटो उठाएर पानीमा पखालेर सुन निकाल्ने गरेको सुनचाँदी व्यवसायी सङ्घ बुटवलका पूर्वअध्यक्ष एमबी विश्वकर्मा बताउँछन् ।

सुन कालीगढ र व्यवसायी आवतजावत बढी हुने ठाउँमा बढालेर जम्मा गरेको धुलो धोएर प्रशोधन गरी सुन निकाल्ने गरेको उनी बताउँछन् । यसरी प्रशोधन गर्दा हरेक व्यक्तिले प्रत्येक दिन दुई÷तीन लाल सुन जम्मा गर्छन् । कसैकसैले त दिनमै सात÷आठ लाल पनि जम्मा गर्ने गरेको उनी बताए ।

सुनचाँदी व्यवसायीले सुन गहना बिक्री गर्दा जर्ती काट्ने बराबरको यिनीहरुले धुलोबाट सुन निकाल्ने गरेको व्यवसायीहरुको भनाइ छ । विश्वकर्मा भन्छन्“काम गर्ने क्रममा हाम्रो शरीरमा सुनका टुक्रा, मसिनो धुलो टासिने र हिँडडुल बढी हुने ठाउँमा झर्ने भएकाले उनीहरुले त्यस वरपरको धुलो बढारेर पानीमा धोएर सुन निकाल्छन्”, उनले भने, “मेरो घरको भित्र कालीगढले काम गर्ने कोठा बाहिर गल्ली, घर बाहिरको नालीसमेत सफा गरेर माटो सङ्कलन गरेर लैजान्छन् र सुन निकाल्छन् ।”

उनीहरुले प्रशोधन गरेर निकालेको सुन स्थानीय बजारमा सुन व्यवसायीलाई नै बजार मूल्यमै बिक्री गर्ने गर्छन् । “उनीहरुले प्रशोधन गरेर निकालेको सुन गुणस्तरीय पनि हुने भएकाले बजारमा बिक्री गर्न कुनै समस्या छैन”, पूर्वअध्यक्ष विश्वकर्माले भने। भारत तथा नेपालका प्रमुख सहरमा सुन पसल भएका क्षेत्रमा यस्ता व्यक्तिलाई भेट्न सकिन्छ । सुन टल्कने र गह्रुङ्गो धातु भएकाले पानीमा सजिलै थिग्र्याउन सकिन्छ ।

बुटवलमा यसरी काम गर्नेहरु अधिकांश भारतको मध्यप्रदेश, आन्ध्रप्रदेश, उडिसा र राजस्थानलगायतका क्षेत्रबाट आउने गरेको पाइन्छ । बुटवल–५ अमरपथमा गण्डकी सुन चाँदी पसलका सञ्चालक तथा पूर्ववडाध्यक्ष तेजप्रसाद विकका अनुसार यही पेसा गरेर कतिपयले त बुटवलमै स्थायीरुपमा बसोबास गरेका छन् । उजनले भने, “यो काममा दुःख पनि छ, त्यसैअनुसारको कमाइ पनि राम्रै हुन्छ ।”

बुटवल सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष गोकुल विश्वकर्माका अनुसार बुटवललगायत विभिन्न तथा ठूला सहरमा सुन चाँदीलगायत बहुमूल्य धातुका गरगहना बनाउने कालीगढ पनि अधिकांश भारतबाट नै आउने गरेका छन् । पछिल्ला समय स्वदेशी कालीगढको सङ्ख्या पनि बढ्दै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?