आज ६ प्रदेशमा राष्ट्रियसभा चुनाव- ३२ पदमा ५२ जना प्रतिस्पर्धामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
१८ पटक हेरिएको
Shares
आज ६ प्रदेशमा राष्ट्रियसभा चुनाव- ३२ पदमा ५२ जना प्रतिस्पर्धामा

सारांश

  • काठमाडौं, २४ माघ – नयाँ संविधान अनुसार पहिलो पटक राष्ट्रिय सभाको चुनाव आज हुँदैछ ।
  • निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ वटा प्रदेशका १२ मतदान केन्द्रमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने कार्यक्रम छ ।
  • प्रदेश नम्बर २ मा यस अघि नै आठै जना सदस्य निर्विरोध निर्वाचित भएकाले ६ वटा प्रदेशमा मात्रै चुनाव हुन लागेको हो ।

काठमाडौं, २४ माघ – नयाँ संविधान अनुसार पहिलो पटक राष्ट्रिय सभाको चुनाव आज हुँदैछ । निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ वटा प्रदेशका १२ मतदान केन्द्रमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने कार्यक्रम छ । प्रदेश नम्बर २ मा यस अघि नै आठै जना सदस्य निर्विरोध निर्वाचित भएकाले ६ वटा प्रदेशमा मात्रै चुनाव हुन लागेको हो ।

निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्यले आ-आफ्नो मतदान केन्द्र पुगेर राष्ट्रियसभा सदस्यका उम्मेदवारलाई मतदान गर्नेछन् ।
संविधानअनुसार एकल संक्रमणीय मत प्रणालीअनुसार प्रत्येक प्रदेशबाट ८ जनाका दरले कुल ५६ जना निर्वाचित हुने र ३ जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

५६ पदमध्ये २४ जना निर्विरोध निर्वाचित भइसकेकाले ३२ पदका लागि निर्वाचन हुन लागेको छ । प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जनामध्ये महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीनजना हुनेछन् ।

महिला तीन र अन्य तीन सदस्यका लागि एकल संक्रमणीय मत प्रणालीअनुसार मतदान हुनेछ भने दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछन् ।

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि सबै तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेको छ । आयोगद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरे ।

‘संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन गर्ने क्रममा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न भइसकेको छ,’ प्रमुख आयुक्त यादवले भने, ‘राष्ट्रियभा निर्वाचन पनि उल्लासमय वातावरणमा सम्पन्न गर्नका लागि राजनीतिक दल, उम्मेदवार, मतदाता र सम्पूर्ण सरोकारवालासँग आग्रह गर्दछु ।’ प्रमुख आयुक्त यादवले बुधबार मतदान सकिएलगत्तै मतगणना सुरु गर्न सबै निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइएको बताए ।

आयोगले सातवटै प्रदेशको अन्तिम परिणाम प्राप्त गरेपछि आवश्यक तयारी पूरा गरी राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम यथाशीघ्र राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको छ ।प्रमुख आयुक्त यादवले राष्ट्रियसभा सदस्यको निर्वाचनको अन्तिम मतपरिणाम आएलगत्तै आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपरिणाम पनि सार्वजनिक गर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?