एमाले माओवादी एकताको गाँठो कहिले फुक्ला!
सारांश
- काठमाडौं, २८ माघ – बुधबार साँझ सामाजिक सञ्जालमा माओवादी नेता-कार्यकर्ताले एउटा स्ट्याटस पोस्ट गरे, ‘एकीकृत पार्टी अध्यक्ष केपी, प्रधानमन्त्री केपी, राष्ट्रपति भण्डारी, सभामुख नेम्बाङ, विचार बहुदलीय जनवाद, ७०-३० को भागबन्डा अनि पार्टी एकता…!
- ’ सुरुमा यो स्ट्याटस माओवादी केन्द्रका सचिवालय सदस्य सूर्य सुवेदी (पथिक) ले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
- लगत्तै माओवादीका जनवर्गीय संगठनका अधिकांश नेता-कार्यकर्ताले त्यसैलाई ‘कपी-पेस्ट’ गर्न थाले।
काठमाडौं, २८ माघ – बुधबार साँझ सामाजिक सञ्जालमा माओवादी नेता-कार्यकर्ताले एउटा स्ट्याटस पोस्ट गरे, ‘एकीकृत पार्टी अध्यक्ष केपी, प्रधानमन्त्री केपी, राष्ट्रपति भण्डारी, सभामुख नेम्बाङ, विचार बहुदलीय जनवाद, ७०-३० को भागबन्डा अनि पार्टी एकता…!’
सुरुमा यो स्ट्याटस माओवादी केन्द्रका सचिवालय सदस्य सूर्य सुवेदी (पथिक) ले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। लगत्तै माओवादीका जनवर्गीय संगठनका अधिकांश नेता-कार्यकर्ताले त्यसैलाई ‘कपी-पेस्ट’ गर्न थाले। सुवेदी माओवादीका यस्ता नेता हुन्, जो अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता रामबहादुर थापासँग समदूरी सम्बन्धमा छन्। सशस्त्र युद्ध सुरुवातमा दाहालका प्रमुख स्वकीय सचिव रहेका उनी प्रतिनिधिसभा चुनावमा पनि दाहालकै चुनावी कमान्डर थिए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले खबर लेखेका छन् ।
यसले प्रस्टै बुझाउँछ, एमाले-माओवादी मूल नेतृत्वबीच पर्दाभित्र भइरहेको एकता वार्ताको चुरो। निर्वाचनलगत्तै एकता गर्ने संकल्प लिएका यी दुई पार्टीबीच एकताको गाँठो झन् कसिँदो छ। गाँठो के हो भन्ने नेताहरूले लुकाए पनि मूल नेतृत्वको व्यवस्थापनमै समस्या रहेको विस्तारै खुल्न थालेको छ। असोज १७ मा नेपालका यी दुई ठूला कम्युनिस्ट पार्टीले चुनावी तालमेल मात्र होइन, पार्टी एकताकै सैद्धान्तिक घोषणा गरेका थिए। प्रतिनिधिसभा, प्रदेशसभा हुँदै राष्ट्रियसभा चुनाव र प्रदेश सरकार निर्माणको भागबन्डासम्म सहमति जुटाएका दुई पार्टीलाई एकताको गाँठो फुकाउन मुस्किल परेको छ। एकीकृत पार्टीको कार्यदिशा र मूल नेतृत्वका विषयमा दुई पार्टी अध्यक्षले आफ्नै तहमा छलफल गरे पनि विकल्प गोप्य राख्दै आएका छन्।
राजनीतिक विश्लेषक झलक सुवेदीको भनाइमा एमाले-माओवादी एकता अहिले माओवादी अध्यक्ष दाहालको पदीय व्यवस्थापनमा अल्झिएको छ। ‘ओलीजी प्रधानमन्त्री हुन कुनै समस्या छैन। प्रचण्डजीले स्वीकार गरिसकेको कुरा हो। यसबाहेक ठूलो पार्टीको अध्यक्ष भएका हिसाबले उहाँको अन्य अवस्था के ? ’ सुवेदी भन्छन्, ‘त्यस्तै प्रधानमन्त्री र पार्टी अध्यक्षसमेत नबनेपछि प्रचण्डको भूमिका के ? यसैमा अल्झिएको छ एकता।’
वार्तामा रहेका नेताहरूले छलफलका विकल्प सार्वजनिक नगरे पनि अन्तर्य कुरा मूल नेतृत्वको विवाद नै रहेको सजिलै बुझ्न सकिने वामविश्लेषक श्याम श्रेष्ठ बताउँछन्। ‘संगठनात्मक सिद्धान्त, विचार र पद विभाजनका विषयवस्तु मिलाउनुपर्ने छ। सबैभन्दा बढी पेचिलो पद विभाजन नै होला,’ श्रेष्ठ भन्छन्, ‘अहिले समय लिएको पनि पद विभाजनले नै हो जस्तो देखिन्छ। यो सजिलैसँग हुँदैन।’
प्रस्ताव आ-आफ्नै
वाम गठबन्धन स्रोतका अनुसार पार्टी एकतामा चुरो विवाद दुई अध्यक्षको व्यवस्थापनमै हो। यसो हुँदा एकता संयोजन समितिका अन्य सदस्यलाई यो विषयमा निर्णय लिन गाह्रो परिरहेको छ। दुई अध्यक्षलाई भावनात्मकदेखि सैद्धान्तिक राजनीतिक तहसम्मका संवाद एक्लै गरेर विषय छिचोल्न संयोजन समितिले समय दिएको हो।
नेता फकाउँदै ओली-दाहाल
एमाले-माओवादी दुवै अध्यक्षले अहिले एकअर्काेलाई गलाउने एउटै अस्त्र प्रयोग गर्न थालेका छन्, एकअर्का पार्टीका दोस्रो पुस्ताका नेतालाई आफ्नो पक्षमा पार्ने, आफूप्रति सकारात्मक बनाइदिने।
माओवादी अध्यक्ष दाहालले त्यसका लागि एमालेका माधव नेपाल, झलनाथ खनालदेखि युवा नेता योगेश भट्टराईसम्ममा प्रभाव बढाउन थालेका छन्। एकताका लागि एमालेले त्याग गरेरै भए पनि उदारता देखाउन सक्नुपर्ने अभिव्यक्ति त्यसैको कडीका रूपमा आएका हुन्।
उता, ओलीले पनि माओवादी नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासम्मलाई फकाउन त्यस्तै अस्त्र फ्याँक्न थालेका छन्। ‘बादल (थापा) अप्ठ्यारा होलान् सोचेको थिएँ तर उहाँ झन् सहज नेता हुनुहुँदो रहेछ,’ बादलकै कारण भागबन्डाको विषय सहजै टुंगिएको भन्दै ओलीले एकता संयोजन समिति बैठकमै माओवादी नेता थापाको प्रशंसा गर्न थालेको स्रोत बताउँछ।
प्रतिक्रिया