कांग्रेस अहिले सहानुभुती देखाउनु पर्ने अवस्थामा छ – केपि ओली
सारांश
- धेरैवटा चुनाव भए, धेरैवटा सरकार बने, धेरै उथलपुथल भए ।
- कसैले हतियार उठाए, कसैले क्रान्तिका नाममा मान्छे मार्ने अभियान चलाए, कसैले लुटपाट मचाए, आतंकको बाढी चलाए ।
- कसैले लोकतन्त्रका नाममा घर बनाए, सम्पत्ती थुपारे, आफन्त सपारे, यस्तै यस्तै काम गरे ।
धेरैवटा चुनाव भए, धेरैवटा सरकार बने, धेरै उथलपुथल भए । कसैले हतियार उठाए, कसैले क्रान्तिका नाममा मान्छे मार्ने अभियान चलाए, कसैले लुटपाट मचाए, आतंकको बाढी चलाए । कसैले लोकतन्त्रका नाममा घर बनाए, सम्पत्ती थुपारे, आफन्त सपारे, यस्तै यस्तै काम गरे । यी सबै तपाईंहरुले देख्नुभएको छ ।
मलाई भन्न अप्ठ्यारो लाग्छ । धेरै वर्षअघि ४२–४३ वर्षअघि हामी त त्यसबेला अलि स्थायी ढंगले नै जेलमा बस्थ्यौं । कतिपय साथीहरु फाट्टाफुट्ट जेलमा पुग्नुहुन्थ्यो । फाट्टफुट्ट पुग्दा मसँग भेट भएका शेरबहादुर देउवा, रामचन्द्र पौडेलजीहरुलाई म जान्दछु । आज मलाई कस्तो लागिरहेको छ भने महाभारतमा युधिष्ठिरले भीमसेन, अर्जुन, द्रौपदी, नकुल, सहदेव सवै भाइ लिएर स्वर्ग जान भनेर हिमालतिर चढे । अलिक माथि पुगेपछि आफ्नो यात्रामा कायम रहन सकेनन्, सहदेव ढले । अलिपछाडि नकुल ढले, अलिक पछाडि द्रौपदी, अर्जुन, भीमसेन ढले । आज त्यस्तै भएको छ, लोकतन्त्रको आन्दोलनमा झण्डैं झण्डंै सँगै भएका साथीहरु फुत्रुक्क फुत्रुक्क खस्दै गए ढल्दै गए । आफ्नो यात्रामा कायम रहन सकेनन् । उहाँहरु आफ्नो यात्रामा कायम रहन सक्नु भएको भए, देशको हितमा उभिन सक्नुभएको भए, लोकतन्त्र बाहिर ओढ्ने रामनामी र भित्रभित्रै अर्कै चिज हसुर्ने प्रबृत्ति बढ्ने थिएन । बाहिर बाहिर कण्ठी बाँध्ने तर, भित्र भित्रै अर्कै धुमधाम चल्ने । यस्तो नभएको भए देशलाई राम्रो हुन्थ्यो ।
हामी विचार गरौं त, एक जमानामा नेपाली कांग्रेस कांग्रेस जस्तो थियो । देशका लागि उभिन्थ्यो, लोकतन्त्रका लागि उभिन्थ्यो । आज कांग्रेसको हविगत विचार गर्नुस् त । कसले चलाउँछ कांग्रेसलाई ? के गर्छ कांग्रेस ? आवेश, उत्तेजना, सत्ता, शुभलाभ । नेपाली कांग्रेसप्रति सहानुभुती देखाउनु पर्ने अवस्था छ ।
माओवादीको सम्बन्धमा त धेरै केही भन्नै पर्दैन । पानी धेरै परेका बेला खहरे मस्र्याङदी भन्दा बढ्ता उफ्रिएर कुद्छ । माओवादी ढुंगा पल्टाउनेगरी उफ्रिएर कुद्यो, खहरेले त्यसै गर्छ । मस्र्याङदीले ढुंगा बगाउँदैन, खहरेले ढुंगा पनि बगाउँछ । माओवादीको त्यस्तै जमाना आयो, एकपटक । माओवादीमा अझैसम्म रहेका साथीहरुलाई म भन्न चाहन्छु । अव त कमसेकम सिक्नुस्, अव त कमसेकम बुझ्नुस्, अव त थाहा पाउनुस् । महान जनयुद्ध कता गयो ? आफ्नै टाउकोमा आगो लगाएर हिंड्ने गफहरु कता गए ? देशमा गर्ने भनेको क्रान्ति के भयो ? आफ्नै छोरी जिताउन मतपत्र च्यात्ने, त्यो भन्दा माथितिर के गयो क्रान्ति ?
भरतपुरमा एमाले र नेपाली कांग्रेस बरावर थियो । किन एमाले माथि पुग्ने अवस्था बन्यो ? कांग्रेस माओवादीका पछाडि कुद्या भए पनि हुन्थ्यो, माओवादीका छोरीका पछाडि कुद्यो । लोकतन्त्र कता गयो ? माओवादीको केही भन्नु परेन । यस्तो अवस्था देखेर साथीहरु नेकपा एमालेमा प्रवेश गर्न आउनु भएको छ । तपाईंको सही निश्कर्षलाई स्वागत गर्न चाहन्छु । एमालेका उद्धेश्य पद र शुभलाभ होइन । एमालेको उद्धेश्य सबैले सुन्ने र बुझ्नेगरी म भन्न चाहन्छु । एमाले यस देशलाई समृद्ध बनाउन चाहन्छ । यो आन्दोलनको गौरवपूर्ण इतिहास भएको ठाउँ, सुन्दर प्राकृतिक ठाउँ, आदिकवि भानुभक्त आचार्य जन्मेको ठाउँ । बन्दीपुरजस्तो पुरानो ब्यापारिक केन्द्र छ । जहाँ अनेक जलविद्युत आयोजनाहरु बन्न सक्छन् । मस्र्याङ्दी र चेपेको उत्तरपट्टी दोभानदेखि डुम्रेसम्म र बेशी सहरदेखि यताको सवै क्षेत्र मिलाएर आधुनिक सहर बनाउन सकिन्छ । त्यसलाई हामीले योजनामा हालेका छौं । यतिञ्जेलसम्म हामी सर्वे सकिसक्थ्यौं होला । तर, रामचन्द्र पौडेलजीलाई तनहुँबाट रेल कुदेको मन परेन । उहाँ प्रचण्डलाई प्रधानमन्त्री नबनाइ भएन भनेर हिंड्नुभयो । किन बनाउनु पर्यो भने केपी ओलीलाई ढाल्नु पर्यो । किन ढाल्नु पर्यो भने यहाँको बाटो चौडा गर्ने भो, केपीले सलल हिंड्ने । यहाँबाट मनाङ चामेतिरको बाटो चौडा हुने भयो । यहाँ स्मार्टसिटी बन्नेभयो । काठमाडौं पोखरा रेल चल्ने भयो । एक घन्टामा काठमाडौंबाट पोखरा पुगिन्छ सजिलोसँग । त्यो कुरा उहाँहरुलाई मन परेन । यहाँ पर्यटकीय क्षेत्रको विकास, आधुनिक विकास, यहाँ स्मार्टसिटी, यहाँ फिल्मसिटी, यहाँ विश्वविद्यालय, यहाँ मेडिकल कलेज, यसलाई आधुनिक सभ्य सहरको रुपमा विकास गर्न सकिन्छ । यो ठाउँ दुनियाँको हेर्न लायक सहर हुन्छ । चीनको पश्चिममा रहेको एउटा सहर मलाई हेर्न आउनुस् भनेर आमन्त्रण गरेका छन् । किन आउनुस् भनेका छन् भने मैले स्मार्टसिटीको कुरा नेपालमा गर्या छु । उनीहरुले बनाएको स्मार्टसिटी हेर्न त्यसका निर्माताहरुले आउनुस् भनेर निम्ता गर्नुभएको छ ।
दुनियाँमा यस्तो प्रगति हुन्छ भइरहेको छ । मैले रेल कुदाउनुपर्छ भनेको थिएँ । तर, रामचन्द्र पौडेलजीहरुले युवा विद्यार्थीहरुलाई बालुवाटार लगेर खेलौना रेल कुदाएर मजाक उडाउनुभयो । आजको युगमा रेल कुदाउनु पर्छ भन्दा खेलौना कुदाएर मजाक उडाउने कुन जमानाको मानसिकता होला ? हावाबाट विजुली निस्किन्छ, घामबाट बिजुली निस्किन्छ भन्दा हावा कुरा गर्यो भन्नुभयो । साह्रै हंसायो भन्नुभयो । उखान हाल्यो भन्नुभयो । घामबाट विजुली निस्किन्छ, पानीबाट विजुली निस्किन्छ भनेर साह्रै हंसायो यसपटक त भनेर उधुम उडाए । तर, जनताले नबुझेका छैनन्, मजाक उहाँहरुको उड्नेवाला छ । आज यत्रो साथीहरु यतिकै एमाले प्रवेश गर्नुभएको छैन ।
राजनीति भनेको, भोट हाल्ने भनेको रेल्वे बनाउने कुरा हो, स्कूल बनाउने कुरा हो, विश्वविद्यालय बनाउने कुरा हो, आफ्ना ठाउँमा सुख हासिल गर्ने कुरा हो । यसलाई हल्काफुल्का ढंगले लिनु हुँदैन । अहिले पनि एमालेलाई भोट नदिएर हराउनु भनेको देशका लागि दुर्भाग्यको कुरा हो । यो भानु नगरपालिकामा एमालेले जितेन । अहिले कुनै ठाउँमा एमालेले नजित्नु भनेको त्यो ठाउँ विकासमा पछाडि पर्नु हो । अरु ठाउँ र एमालेले जितेका ठाउँको भिन्नता भोलि तपाईंहरु हेर्नुहोस्, पछुतो हुन्छ ।
हामीले सरकारमा गएर के गर्यौं तपाईंहरुलाई थाहा छ । अत्यन्तै अप्ठेरो बेलामा नाकाबन्दीको बेलामा म सरकारमा गएको थिएँ । घुँडा नटेकी नाकाबन्दी खुलाइयो । सम्मानका साथ राजकीय भ्रमणमा भारत गइयो । देशको हितको पक्षमा सन्धी सम्झौताहरु गरिए । प्रधानमन्त्रीको रुपमा केपी ओली भारत गएर के के मा हस्ताक्षर गर्छ, के के बोल्छ, कता फर्केर हाँस्छ, सबै नेपाली कांग्रेसले दूरविन लगाएर हेरेको थियो । कसैले एक ठाउँमा केही भन्ने कुरा पायो ? कुनै भन्ने ठाउँ पाएन । किनभने हामी कुनै नक्कली कुरा गर्दैनौं र देशको हित विपरित काम गर्दैनौं । त्यसकारण हामीले शानदार ढंगले नयाँ सम्झौताहरु गर्यौं । नझुकीकन नाकाबन्दी खुलायौं । राष्ट्रका लागि अत्यन्त उपयोगी नयाँ बन्दरगाह खोल्यौं । कलकत्ताको बन्दरगाह गतिलो छैन । यतिका वर्षदेखि त्यही काम नलाग्ने बन्दरगाहमा हामी अल्मलियौं । कहिले कहिले १५ दिनसम्म पानी जहाजहरु उतै बस्छन् आउन नपाएर । बिशाखापटनम ठूला जहाज पनि आउँछ ।
बंगलादेशको पोर्ट प्रयोग गर्नका लागि सम्झौता गर्यौं । एउटा मात्रै होइन, हाम्रा दुईटा छिमेकी छन् । दुवैतिरबाट हामी विश्वसँग सम्बन्ध राख्न सक्छौं, ब्यापार बढाउन सक्छौं । त्यसका लागि हामीले चीनसँग पारवहन र यातायात सम्झौता गर्यौं । विभिन्न नाकाबाट नेपाल आउने बाटो बनाउने सम्झौता गर्यौं । भ्यागुताले इनारको मुखबाट देखिएको भन्दा ठूलो संसार कहाँ हुन्छ भनेजस्तै भयो । हाम्रो विपक्षमा रहेको अहिलेको सत्तासीन गठबन्धनले उनीहरु इनारको मुखबाट जति भाग देखिन्छ त्यही मात्रै देख्यो । विकासका निम्ति एमालेले एउटा नयाँ क्षितिज उघारेको छ । आज पार्टी प्रवेश गर्ने साथीहरुले एमालेमा आएर सेतोलाई कालो र कालोलाई सेतो भन्नु पर्नेछैन । जस्तो देख्नुहुन्छ, त्यस्तो भन्न पाउनुहुन्छ । जुन देशको हावापानी र माटोमा बसेर खाएको छ, त्यही देशको विरुद्ध काम गरेकोलाई ठीक छ, ठीक छ भन्नु पर्ने अवस्थाबाट तपाईंहरु मुक्त हुनुभएको छ । पुर्खाले लडेर बनाएको देश बचाउन तपाईंहरु लड्नु पर्दैन, अडेर बसे पुग्छ । त्यति गर्नेका पछाडि नलागेर जे गरे पनि हो हो भन्दै कुद्नु पर्ने वाध्यता तपाईंहरुलाई हुँदैन ।
Amar Ghotane
उखाने बुढा धेरै बकबक नगर सन्सार छोडेर जाने बेला भै सक्यो आफ्नो बारेमा सोच्दा राम्रो होला अर्को पार्टीलाई गाली गर्ने अर्ति दिने तिम्रो काम होइन!जनता सधै बेबकुफ भएर उखान टुकका सुनेर ताली बजाउदै हिंड्दैनन!यति कुरोको चेतना भया।।।दिउँसो सपना देख्न छोड।
Shyam Fayal
Yo sachchikai pagal nai ho. Natra khali congress ko birodh matrai garer aafulai ramro dekhauna khojxa.