कांग्रेस विधानमै ‘गुट’ किचलो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २९, २०७५
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २९ कात्तिक।
  • संविधानले व्यवस्था गरेको मुलुकको नयाँ संरचनाअनुसार केन्द्रदेखि मतदान केन्द्रसम्मको संरचनाको विधान तयार गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विधान समितिमा गुटगत किचलो बढेको छ ।
  • विधान समितिलाई विधानको खाका तयार गर्ने अधिकार भए पनि विधान बनाउने क्रममा पार्टीको गुट हावी हुँदा के कस्तो प्रावधान राख्ने भन्नेमा किचलो देखिएको हो ।

काठमाडौं, २९ कात्तिक। संविधानले व्यवस्था गरेको मुलुकको नयाँ संरचनाअनुसार केन्द्रदेखि मतदान केन्द्रसम्मको संरचनाको विधान तयार गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विधान समितिमा गुटगत किचलो बढेको छ । विधान समितिलाई विधानको खाका तयार गर्ने अधिकार भए पनि विधान बनाउने क्रममा पार्टीको गुट हावी हुँदा के कस्तो प्रावधान राख्ने भन्नेमा किचलो देखिएको हो । हाल कांग्रेसभित्र विधानमा सभापतिको अधिकार, पदाधिकारी संख्या, निर्वाचन पद्धति, संसदीय (बोर्ड) समितिको चयन प्रक्रिया, सदस्यता वितरण प्रक्रिया र विशेष अवस्थाको व्याख्याका विषयमा मूल विवाद रहँदै आएको छ । सभापति शेरबहादुर देउवानिकट नेताहरू विधानमा सभापतिलाई बलियो बनाउने गरी पदाधिकारी संख्या बढाउने र केही पदाधिकारी निर्वाचनमार्फत र केही मनोनीत गर्ने गरी विधानमा व्यवस्था गर्ने पक्षमा छन् ।

यस्तै संस्थापनइतर मानिने वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेता कृष्णप्रसाद सिटौला समूह भने निर्वाचन प्रक्रियामार्फत नै पार्टीका सबै पदाधिकारी चयन गर्नुपर्ने पक्षमा छन् । विधान समितिका प्रवक्तासमेत रहेका नेता रमेश लेखकले विधानमा गरिने व्यवस्थाका विषयमा समितिभित्र केही असमझदारी रहेको जनाए । ‘विधानको काम जारी नै छ तर केही साथीले फरक मत राख्नुभएको छ । छलफल हुँदै छ, निर्वाचन प्रक्रिया र संसदीय समितिको चयनका विषयमा केही फरक कुरा आएका छन्,’ नेता लेखकल भने । विधान समितिका सदस्य नेता प्रदीप पौडेलले गएको केन्द्रीय समिति बैठकपछि विधान समितिको बैठक नै नबसेको जनाए । उनले पदाधिकारी संख्या, सभापतिले मनोनीत गर्ने संख्या, संसदीय समिति तथा विशेष अवस्थाको व्याख्याका विषयमा कुरा नमिलेको जनाए । ‘गएको केन्द्रीय समिति बैठकपछि विधान समितिको बैठक नै बसेको छैन, पदाधिकारी संख्या, सभापतिले मनोनीत गर्ने संख्या, संसदीय समितिसहित विशेष अवस्थाको व्याख्याबारे कुरा मिल्न बाँकी छ,’ नेता पौडेलले भने ।

सभापतिको अधिकार, पदाधिकारी संख्या, निर्वाचन पद्धति, संसदीय (बोर्ड) समितिको चयन प्रक्रिया, सदस्यता वितरण प्रक्रिया र विशेष अवस्थाको व्याख्याका विषयमा मूल विवाद रहँदै आएको छ।
तर केन्द्रीय समितिको आकारका विषयमा भने लगभग सहमति जुटेको उनले जानकारी दिए। जसअनुसार कांग्रेस केन्द्रीय समिति १२५ सदस्यीय हुने लगभग टुंगिएको छ ।
कांग्रेसभित्रको संस्थापन पक्ष संसदीय समितिसमेत मनोनीत गर्ने गरी विधानमा व्यवस्था गर्ने पक्षमा छ भने संस्थापनइतर पक्ष संसदीय समिति निर्वाचनको टिकट बाँड्ने समिति भएकाले महत्वपूर्ण हुने भन्दै निर्वाचन प्रक्रियामार्फत नै चयन गर्ने गरी विधानमा व्यवस्था गरिनुपर्ने पक्षमा छ ।

नेता लेखकले सभापतिलाई कमजोर बनाएर विधान बनाउँदा पार्टी कमजोर हुने भन्दै सभापतिलाई अधिनायकवादी हुन नदिने गरी विधान बनाइने जनाए । विधान समितिले विधानका लागि भन्दै मुलुकको सातै प्रदेशका १२ विभिन्न स्थानमा आफ्ना प्रदेश र जिल्ला स्तरका नेताहरूसँग विधानबारे रायसमेत लिएको थियो ।

यस्तै, विधान मस्यौदाको खाका तयार गर्दै विभिन्न तीन उपसमितिले आ–आफ्नो प्रतिवेदन मूल समितिलाई बुझाइसकेका छन् । सो उपसमितिले नयाँ विधानमा वरिष्ठ नेतासहित पदाधिकारी संख्या १० जना रहने गरी प्रस्ताव गरेको थियो । तर, निर्वा्चित र मनोनीत पदबारे भने तय भएको छैन । यसैगरी, पार्टीको केन्द्रीय समिति पनि १२१ देखि १३१ सम्म रहने गरी प्रस्ताव गरिएको थियो। हाल कांग्रेस केन्द्रीय समिति ८५ सदस्यीय छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?