बुद्ध भारतीय हुन् भन्ने को हुन दलाई लामा ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
२६ पटक हेरिएको
Shares
बुद्ध भारतीय हुन् भन्ने को हुन दलाई लामा ?

सारांश

  • अहिले दलाई लामाले गौतम बुद्ध सम्बन्धी दिएको अभिव्यक्ति संसारभरका नेपाली बीच चर्चाको विषय बनिरहेको छ ।
  • चौधौ दलाई लामाले केही समय अघि आफ्ना अनुयायीहरुसँग कुरा गर्दै बुद्धको जन्म नेपालमा होइन भारतमा भएको भन्ने भनाई व्यक्त गरेका थिए ।
  • उनको यो भनाई सार्वजनिक भएसँगै उनको अहिले आलोचना भइरहेको छ ।

अहिले दलाई लामाले गौतम बुद्ध सम्बन्धी दिएको अभिव्यक्ति संसारभरका नेपाली बीच चर्चाको विषय बनिरहेको छ । चौधौ दलाई लामाले केही समय अघि आफ्ना अनुयायीहरुसँग कुरा गर्दै बुद्धको जन्म नेपालमा होइन भारतमा भएको भन्ने भनाई व्यक्त गरेका थिए । उनको यो भनाई सार्वजनिक भएसँगै उनको अहिले आलोचना भइरहेको छ । इतिहासलाई गलत ढंगबाट व्याख्या गर्न खोजेको भन्दै उनलाई नेपालीहरुले सामाजिक सञ्जाल लगायतमा विरोध गरिरहेका छन् । यसरी विवादास्पद अभिव्यक्ति दिएर आलोचना भोगिरहेका दलाई लामा को हुन ?

भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा निर्वासित जीवन बिताइरहेका चौधौ दलाई लामाको वास्तविक नाम तेन्जिङ ग्यात्सो हो । उनको जन्म तिब्बतको ताकस्तेर क्षेत्रस्थित येओमान परिवारमा सन १९३५ जुलाई ६ तारिखमा भएको हो । दुई वर्षको उमेरमा बालक ल्हामो धोण्डुपको पहिचान १३ औं दलाई लामा थुस्तेन ग्यात्सोको अवतारको रुपमा गरिएको थियो ।

दलाई लामा बौद्ध धर्म अन्तर्गत महायान सम्प्रदायको बोधिसत्व दर्शनमा आधारित अवतारवादको श्रृङ्खला हो । उनलाई विश्वभरीका तिब्बती बौद्ध धर्मावलम्बीले बोधीसत्व आर्य अलोकितेश्वरको जीवित अवतारका रुपमा मान्ने गरेका छन ।

स्वतन्त्र तिब्बतका अगुवा नेताका रुपमा चिनिने चौधौ दलाई लामाको मठवासिय शिक्षा ६ वर्षको उमेरमा शुरु भएको थियो । बौद्ध धर्म दर्शनमा उनलाई विद्यावारिधी समेत प्रदान गरिएको छ ।
सन १९५९ देखि उनी भारतमा निर्वासित जीवन बिताईरहेका छन । सन १९४९मा चीनले तिब्बतमाथि आक्रमण गरेपछि दलाई लामालाई सम्पुर्ण राजनीतिक सत्ता सुम्पन्न भनेको थियो । स्वतन्त्र तिब्बतको विषयलाई लिएर उनले तात्किालिन चीनिया नेता माओत्से तुङ र देङ जियो पिङसँग समेत वार्ता गरेका थिए । तर, तिब्बतमा जारी आन्दोलनलाई चीनले नियन्त्रणमा लियो र दलाई लामा निर्वासित हुन बाध्य भएका थिए । त्यसयता उनी निरन्तर भारतमा बस्दै आएका छन । भारतको धर्मशाला मै निर्वासित तिब्बत सरकारको केन्द्रिय प्रशासनको मुख्यालय पनि रहेको छ ।

तिब्बतको स्वतन्त्रताका लागि उनले जारी राखेको आन्दोलनलाई मध्यनजर गरी उनलाई सन १९८९ मा शान्तिका लागि नोबेल पुरस्कार प्रदान गरिएको थियो । तर, चीनले भने दलाई लामालाई पश्चिमा शक्तिको आडमा आफनो देशविरोधी गतिविधि गरिरहेको आरोप लगाउदै आएको छ ।।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?