स्वास्थ्य संस्थामा औषधि अभाव
सारांश
- तेह्रथुम, २२ भदौ ।
- यहाँका स्वास्थ्य संस्थामा सामान्य अवस्थाका बिरामीलाई चाहिने औषधिको पनि अभाव भएको छ ।
- आर्थिक वर्ष शुरु भएपछि जिल्ला स्वास्थ्य कार्यालयले औषधि पठाउन छाडेकाले औषधि अभाव भएको हो ।
तेह्रथुम, २२ भदौ । यहाँका स्वास्थ्य संस्थामा सामान्य अवस्थाका बिरामीलाई चाहिने औषधिको पनि अभाव भएको छ ।
आर्थिक वर्ष शुरु भएपछि जिल्ला स्वास्थ्य कार्यालयले औषधि पठाउन छाडेकाले औषधि अभाव भएको हो । स्थानीय तह आफैँले औषधि खरिद गर्नुपर्ने व्यवस्था रहेको भन्दै कार्यालयले औषधि पठाएको छैन ।
कार्यालयले औषधि पठाउन छाडेपछि दुई महिना यता दैनिक अत्यावश्यक औषधि अभाव भएको चुहानडाँडा स्वास्थ्य चौकीका इन्चार्ज सुशील इङ्नामले बताउनुभयो । “दुई महिनायता औषधि सकिएको छ, निःशुल्क पाइने ३९ मध्ये अहिले दुई तीनवटा औषधि मात्रै उपलब्ध छ”, उहाँले भन्नुभयो । आठराई गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ ।
“महत्वपूर्ण औषधि सबैतिर सकिएको छ”, उहाँले भन्नुभयो, “यसबारे कसैले चासो दिएको छैन ।” सो स्वास्थ्य चौकीमा इवा, छातेढुंगा, चुहानडाँडा र थोक्लुङका सर्वसाधारण सेवा लिन आउने गरेका छन् । अहिले दैनिक २० देखि ३० जनासम्म बिरामी नियमित रुपमा उपचारका लागि आउने गरेका छन् ।
औषधि नहुँदा सिटामोल समेत किनेर खानुस् भनेर पठाउनुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकीका अहेव डम्बर अधिकारीले बताउनुभयो । “सिटामोल समेत छैन, आइरन चक्की नहुँदा गर्भवतीले सेवन गर्न पाएका छ्रैनन्,” उहाँले भन्नुभयो, “निःशुल्क दिने अस्थायी साधन पिल्स र डिपो तथा झाडापखाला लाग्दा सेवन गर्ने जीवनजल मात्रै छ ।”
प्रतिक्रिया