हिमाली क्षेत्रहरुबीच बहुआयामिक सम्बन्ध विस्तार गर्नु नेपाल र चीनको साझा लक्ष्य : सभामुख महरा
सारांश
- ल्हासा, २५ भदौ ।
- सभामुख कृष्णबहादुर महराले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्राष्ट्रिय सहकार्यको लागि कोशेढुंगा भएको बताएका छन् ।
- चीन तिब्बत पर्यटन र साँस्कृतिक एक्सपोअन्तर्गत आज (सोमबार) ल्हासामा आयोजित ट्रान्स हिमालय वेल्ट एण्ड रोड इन्टरनेश्नल कोअपरेशन फोरमलाई सम्बोधन गर्दै सभामुख महराले बिआरआईले अन्तर्राष्ट्रिय सहकार्य र साझेदारीको क्षेत्रमा अनेकौं अवसरहरु सिर्जना गरेको बताएका हुन् ।
ल्हासा, २५ भदौ । सभामुख कृष्णबहादुर महराले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्राष्ट्रिय सहकार्यको लागि कोशेढुंगा भएको बताएका छन् ।
चीन तिब्बत पर्यटन र साँस्कृतिक एक्सपोअन्तर्गत आज (सोमबार) ल्हासामा आयोजित ट्रान्स हिमालय वेल्ट एण्ड रोड इन्टरनेश्नल कोअपरेशन फोरमलाई सम्बोधन गर्दै सभामुख महराले बिआरआईले अन्तर्राष्ट्रिय सहकार्य र साझेदारीको क्षेत्रमा अनेकौं अवसरहरु सिर्जना गरेको बताएका हुन् ।
बिआरआईमार्फत् हिमाली क्षेत्रहरुबीच बहुआयामिक सम्बन्ध बिस्तार गर्ने नेपाल र चीनका नेतृत्वको साझा लक्ष्य रहेको सभामुख महराले बताए । “बि.आर.आई.मार्फत् हिमाली क्षेत्रहरुबीच बहुआयामिक सम्बन्ध विस्तार गर्नु नेपाल र चीनका नेतृत्वको साझा लक्ष्य हो । जसले दुवै देशमा व्यापार र व्यवसायका धेरै अवसरहरु सृजना गर्नेछ”, उनले भने, “चीनको औद्योगिक विकास, प्रविधि विकास, व्यवसायिकता र विशाल आन्तरिक बजार तथा नेपालको प्रचुर प्राकृतिक स्रोत, भौगोलिक सामिप्यताको फाइदा आदिले मूल्य श्रृङ्खला र आर्थिक वृद्धिबीच सामञ्जस्यता ल्याउनेछ ।”
बि.आर.आई.ले पूर्वाधार र संरचना विकासमा ध्यान केन्द्रित गरेको भन्दै सभामुख महराले सीमा क्षेत्रमा पूर्वाधार विकास गर्ने पक्ष नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको लागि ज्यादै महत्वपूर्ण भएको बताए ।
नेपाल लामो समयको राजनीतिक संघर्षपछि शान्ति तथा सामाजिक आर्थिक विकासको नयाँ अध्यायमा प्रवेश गरेको बताउँदै सभामुख महराले आर्थिक विकास र जनताको समृद्धि नै नेपालको एक मात्र राष्ट्रिय एजेण्डा भएकोले चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे ।
“अहिले हाम्रो एकमात्र राष्ट्रिय एजेण्डा भनेको देशको आर्थिक विकास र जनताको समृद्धि हो”, सभामुख महराले भने, “पूर्वाधार विकास, जलविद्युत, होटेल व्यवसाय, सूचना तथा सञ्चार र स्वास्थ्य तथा शिक्षाजस्ता क्षेत्रहरुमा लगानीको राम्रो सम्भावना छ र चिनियाँ लगानीकर्ताको लागि हाम्रा नीतिहरु लगानीमैत्री छन् । त्यसैले नेपालमा लगानी गर्न म चिनियाँ लगानीकर्ताहरुलाई विशेष आग्रह गर्दछु ।”
तिब्बतमा भएको अभुतपूर्व आर्थिक विकास तथा सामाजिक साँस्कृतिक विकासले नेपालमा पनि अवसरको ढोका खोल्ने भन्दै उनले चीनले दुई दशकमा सफलतापूर्वक सञ्चालन गरेको किंगहाइ–तिब्बत रेलवे परियोजनाले नेपाल र चीनलाई रेलले जोड्न सक्ने प्रविधिको विकास गरेकोमा आफू विश्वस्त भएको बताए ।
नेपालका प्रधानमन्त्री चीन भ्रमणमा रहेको बेला भएको रेलमार्गले जोड्ने समझदारी कोशेढुङ्गाको रुपमा रहेको भन्दै सभामुख महराले रेलमार्ग, राजमार्ग, बन्दरगाह, ट्रान्समिसन लाइन र सञ्चार सम्पर्क आदिको अवधारणासहित ल्याइएको ट्रान्स–हिमालयन मल्टिडाइमेन्सिएल कनेक्टिभिटी नेटवर्कले आर्थिक विकासका नयाँ पक्षहरुलाई उकास्न सहयोग गर्ने बताए ।
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरी प्रत्येक वर्ष २ मिलियन पर्यटक भित्राउने लक्ष्य राखेको भन्दै सभामुख महराले नेपालको लक्ष्य पूरा गर्न चिनियाँ पर्यटकलाई नेपाल भित्राउन चीन सरकार, ट्राभल र टुर व्यवसायीहरुबीच सहकार्य र साझेदारीको आवश्यकता भएको बताए । सभामुखले भने, “पर्यटन क्षेत्रमा नेपालको लक्ष्य पूरा गर्न चीन सरकार, चिनियाँ ट्राभल तथा टुरिज्म व्यावसायिक समुदाय र लगानीकर्ताहरुको ठूलो भूमिका रहन्छ, उहाँहरुलाई नेपालको पर्यटन क्षेत्रमा अझ धेरै लगानी गर्न म विशेष अनुरोध गर्दछु ।”
अरनिको राजमार्ग नेपाल र चीन जोड्ने पहिलो ऐतिहासिक मार्ग भएको चर्चा गर्दै सभामुख महराले भौगोलिक विकटताको कारणले सीमा क्षेत्रमा राजमार्ग र रेलमार्ग निर्माणमा ठूलो लगानी र प्रयासको आवश्यकता पर्ने र त्यो दुई देशबीचको आपसी समझदारी र सहकार्यले सम्भव हुने बताए । उनले भने, “दुबै देशका पुर्खाहरुले व्यापार व्यवसाय र सामाजिक संस्कृति सम्बन्ध विस्तारको लागि कठिन हिमाललाई पार गरेका थिए । वर्तमान समयमा चीनले गरेको उच्चतम प्रविधि विकास र उत्कृष्ट सीपको मद्दतले दुई देशबीचको सीमा सम्बन्ध स्थापित गर्ने बाटोमा महत्वपूर्ण भूमिका खेल्नेछ ।”
नेपाल र चीनबीचको सम्बन्ध एकअर्काप्रति सम्मान, आपसी मित्रता, सहयोग, साझेदारी, सहकार्य, प्रशंसा जस्ता तत्वहरुले आत्मीय र घनिष्ठ बनेको भन्दै समाभुख महराले सीमा क्षेत्रमा कठिन हिमाल र पहाडका उपस्थितिका बाबजुद प्राचीनकालदेखि नै कायम रहेको सम्बन्ध र सहकार्यलाई अझ मजवुत बनाउन दुबै देश सक्षम भएको बताए ।
सभामुख महराको भाषणको पूर्णपाठ
सम्माननीय सभामुख कृष्णबहादुर महराले चौथो चीन तिब्बत पर्यटन र साँस्कृतिक एक्सपोअन्तर्गत ट्रान्स हिमालय वेल्ट एण्ड रोड इन्टरनेश्नल कोअपरेशन फोरममा व्यक्त गर्नुभएको मन्तव्यको पूर्णपाठ ः
(ल्हासा, १० सेप्टेम्बर, २०१८)
ट्रान्स हिमालय वेल्ट ऐण्ड रोडका प्रमुखज्यू
इन्टरनेश्नल कोअपरेशन फोरम
मन्त्री तथा उच्च प्रतिनिधिहरु
मेरो प्रतिनिधिमण्डलका सदस्यहरु
पत्रकार साथीहरु
महिला तथा सज्जनवृन्द
१. सर्वप्रथम मलाई ु‘Incorporating Nepal into Belt and Road International Cooperation’ विषयमा आफ्नो विचार प्रस्तुत गर्ने मौका दिनुभएकोमा ट्रान्स हिमालयन वेल्ट एण्ड रोड इन्टरनेश्नल फोरमका प्रमुखलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यो विषय वर्तमान समयमा निकै सान्दर्भिक छ किनकि नेपाल यो परियोजनामा समावेश भएर मात्र होइन कि अहिले यो विषयले पूरै विश्वको ध्यान आकर्षित गर्न सफल भएर हो ।
२. नेपाल र चीनबीचको सम्बन्ध एकअर्काप्रति सम्मान, आपसी मित्रता, सहयोग, साझेदारी, सहकार्य, प्रशंसा जस्ता तत्वहरुले आत्मीय र घनिष्ठ बनेको छ । शान्तिको पञ्चशील सिद्धान्तले बहुपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण आधार सृजना गरेको छ । सीमा क्षेत्रमा कठिन हिमाल र पहाडका उपस्थितिका बाबजुद पनि हामी प्राचीन समयदेखि कायम रहेको सम्बन्ध र सहकार्यलाई अझ मजवुत बनाउन सक्षम भएका छौँ ।
३. दुई देशबीचको सम्बन्ध ५–७ औं शताब्दीमा शुरु भएको इतिहास छ जतिबेला व्यापारीहरुले कठिन हिमाल र पहाड पार गरेर दुवै देशको सभ्यता आदानप्रदान गर्ने कामको थालनी गरे । नेपाली यात्रीहरुले बौद्ध धर्मलाई मात्र प्रचार नगरीकन नेपाली संस्कृति र कलालाई पनि तिब्बत, युनान र सिचुवान पार गरी चीनसम्म फैलाए । ६३ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापित भएपछि दुई देशको सम्बन्धले एउटा मुर्त रुप प्राप्त ग¥यो ।
४. चीनको स्वशासित क्षेत्र तिब्बत (TAR) ले ऐतिहासिक दृष्टिकोण र वर्तमान आवश्यकताअनुसार नेपाल र चीनबीचको सम्बन्ध विस्तारमा विशेष भूमिका खेलेको छ । नेपाल र चीनबीचको ऐतिहासिक व्यापारिक मार्ग, संस्कृति आदान प्रदान र राजनीतिक अन्तरक्रियाहरु बिस्तारमा तिब्बतको महत्वपूर्ण भूमिका रहेको छ । दुई देशबीचका सीमाका धेरै भागहरु तिब्बतमा पर्छन्, जसले स्थानीय तहमा सहकार्य गर्नको लागि धेरै क्षेत्रहरुको सम्भाव्यतालाई उच्च बनाएको छ ।
५. नेपाल र तिब्बतबीच विभिन्न तहमा हुने भेटघाटको लामो इतिहास रहेको छ, जसले नेपाल र तिब्बत स्वायत्त क्षेत्रबीचको सम्बन्धलाई अझ मजवुत बनाएको छ । दुवै देशबीच बढ्दो सञ्चार सम्पर्क, विभिन्न क्षेत्रमा सहकार्य जस्तै उच्च राजनीतिक नेतृत्व, सांसद, प्रशासक, व्यापारी, कलाकार, सर्वसाधारण आदिको अन्तरक्रियाले दुई देशबीचको घनिष्ठता बढ्दो क्रममा छ ।
६. नेपालमा भर्खरै ऐतिहासिक राजनीतिक परिवर्तन भएको छ । गत वर्ष सफलतापूर्वक सम्पन्न भएको तिनवटै तहको निर्वाचनपछि नेपालको नयाँ संविधान पूर्ण रुपमा कार्यान्वयनमा आएको छ । नेपाली जनताले नेपाल कम्युनिष्ट पार्टीलाई देश सञ्चालन गर्नको लागि बहुमतसहित जनाधिकार प्रदान गरेका छन् । यसले नेपालमा राजनीतिक स्थिरता कायम हुने क्रममा रहेको छ ।
महामहिम, महिला तथा सज्जनवृन्द
७. चीनका एक दूरदर्शी नेता तथा महामहिम राष्ट्रपति सी जीङपीङले (building a community of a shared future for humanity) ‘मानवताका लागि साझा समाजको निर्माण गर्ने’ उद्देश्यका साथ शुरु गर्नु भएको बि.आर.आई.लाई हामी खुला हृदयले स्वागत र समर्थन गर्दछौं । सन् २०१७ मे मा तत्कालीन उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको हैसियतमा बि.आर.आई. इन्टरनेश्नल फोरम, बेइजिङमा नेपाली प्रतिमण्डलको नेतृत्व गरेको थिएँ, जुन कामप्रति म अत्यन्त हर्षित छु । विश्वको बढ्दो रुचिसँगै बि.आर.आई. अन्तर्राष्ट्रिय सहकार्यको लागि एउटा महत्वपूर्ण कोशेढुंगाको रुपमा उदाएको छ । यो दूरदर्शी परियोजनाले सहकार्य र साझेदारीको क्षेत्रमा अनेकौं अवसरहरुको सृजना गरेको छ ।
८. हिमालय क्षेत्र जसलाई संसारको छानो भनेर चिनिन्छ, जहाँ करिब ३ मिलियनभन्दा बढी जनसंख्याको बसोबास रहेको छ । जुन विश्वको कुल जनसंख्याको झण्डै आधा हिस्सा हो । यो क्षेत्र ३ ट्रिलियन बराबरको कुल ग्राहस्थ उत्पादनको क्षेत्र मात्र नभइकन पानी, ऊर्जा र रणनीतिक महत्वको मुख्य स्रोत पनि भएकोले हिमालय क्षेत्र महत्वपूर्ण छ । ट्रान्स हिमालय कर्पोरेशनले चीनको दक्षिण पश्चिमी क्षेत्र र दक्षिण एसियामा बि.आर.आई.लाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । चीनको दक्षिण पश्चिमी क्षेत्र भौगोलिक रुपले नजिक, साँस्कृतिक र धार्मिक कारणले दक्षिण एसिया प्रवेश गर्ने मुख्य मार्गको रुपमा रहेको छ ।
९. चीनले सामाजिक—आर्थिक र प्रविधि विकासमा गरेको अतुलनीय प्रगति देखेर म असाध्यै खुसी छु, जसले जनताको गुणस्तरीय जीवनमा उलेख्य सुधार गरेको छ । आफुले प्राप्त गरेको विकासको फल अरु छिमेकीहरुसँग आदानप्रदान गर्ने उद्देश्यका साथ ल्याइएको बि.आर.आई. वास्तवमै प्रशंसनीय छ । बि.आर.आई.मार्फत् हिमाली क्षेत्रहरुबीच बहुआयामिक सम्बन्ध विस्तार गर्नु नेपाल र चीनको नेतृत्वको साझा लक्ष्य हो । जसले दुवै देशमा व्यापार र व्यवसायका धेरै अवसरहरु सृजना गर्नेछ । नेपाल र चीनले हिमाली क्षेत्रमा आर्थिक गतिविधिलाई प्रवद्र्धन गर्न र साझा लाभ प्राप्त गर्नको लागि मूल्य श्रृङ्खलामार्फत् सहकार्य गर्ने सम्भावना रहेको छ । मलाई पूर्ण विश्वास छ कि चीनको औद्योगिक विकास, प्रविधि विकास, व्यवसायिकता र विशाल आन्तरिक बजार तथा नेपालको प्रचुर प्राकृतिक स्रोत, भौगोलिक सामिप्यताको फाइदा आदिले मूल्य श्रृङ्खला र आर्थिक वृद्धिबीच सामञ्जस्यता ल्याउने छ ।
१०. दुई देशका व्यापारिक मार्गहरु तिब्बत स्वायत्त क्षेत्र हुँदै फैलिएका छन् । अरनिको राजमार्ग नेपाल र चीन जोड्ने पहिलो ऐतिहासिक मार्ग हो । भौगोलिक विकटताको कारणले सीमा क्षेत्रमा राजमार्ग र रेलमार्ग निर्माणमा ठूलो लगानी र प्रयासको आवश्यकता पर्दछ । यद्यपि आपसी समझदारी र सहकार्यले यो सम्भव छ ।
११. कठिन भौगोलिक कारणले दुई देशबीच सडक र रेलमार्गले जोड्ने कुरा बढी महत्वकांक्षी हुन सक्छ । म के कुरा स्मरण गराउन चाहन्छु भने दुवै देशका पुर्खाहरुले व्यापार व्यवसाय र सामाजिक संस्कृति सम्बन्ध विस्तारको लागि कठिन हिमाललाई पार गरेका थिए । वर्तमान समयमा चीनले गरेको उच्चतम प्रविधि विकास र उत्कृष्ट सीपको मद्दतले दुई देशबीचको सीमा सम्बन्ध स्थापित गर्ने बाटोमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
१२. चीनले स्वशासित क्षेत्र तिब्बतमा प्राप्त गरेको अभुतपूर्व आर्थिक विकास तथा सामाजिक साँस्कृतिक विकासले नेपालमा पनि अवसरको ढोका खोल्नेमा विश्वस्त छु । चीनले दुई दशकमा सफलतापूर्वक सञ्चालन गरेको त्तष्लनजबष्(त्ष्दभत च्बष्धिबथ परियोजनाले नेपाल र चीनलाई रेलले जोड्न सक्ने प्रविधिको विकास भएको कुरा स्पस्ट छ । नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सीमा क्षेत्रलाई रेलले जोड्ने परियोजनामा दुवै देशका नेताहरुबीच भएको समझदारी कोशेढुंगाको रुपमा रहेको छ । हामीलाई अर्को के पनि विश्वास छ भने रेलमार्ग, राजमार्ग, बन्दरगाह, ट्रान्समिसन लाइन र सञ्चार सम्पर्क आदिको अवधारणासहित ल्याइएको Trans-Himalayan Multidimensional Connectivity Network ले आर्थिक विकासका नयाँ पक्षहरुलाई उकास्न सहयोग गर्नेछ । जसको लागि समझदारी, साझेदारी र सहकार्यको आवश्यकता छ ।
प्रिय साथीहरु
१३. चीन विश्व अर्थतन्त्रको प्रमुख पात्र हो, जसले विश्व शान्ति, विकास र स्थिरतामा महत्व दिन्छ । यो सन्दर्भमा विभिन्न देश र क्षेत्रभित्र तथा बाहिर सहकार्यको सम्बन्ध स्थापित गर्ने चीनको प्रयासलाई हामी प्रशंसा गर्छौं । हामीलाई थाहा छ, बि.आर.आई.ले पूर्वाधार र संरचना विकासमा ध्यान केन्द्रित गरेको छ । सीमा क्षेत्रमा पूर्वाधार विकास गर्ने पक्ष हाम्रो जस्तो भूपरिवेष्ठित राष्ट्रको लागि ज्यादै महत्वपूर्ण छ । यसबाहेक यसले नेपालको आर्थिक विकासलाई पनि ठूलो सहयोग गर्नेछ र सँगसँगै जनस्तरमा पनि दुई देशबीच सम्बन्ध स्थापित गर्न सहयोग पु¥याउने छ ।
१४. पर्यटन यस्तो क्षेत्र हो जसमा दुवै देशका जनताले सहकार्य गरी लाभ लिन सक्छन् । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरी प्रत्येक वर्ष २ मिलियन पर्यटक भित्राउने लक्ष्य राखेको छ । यो लक्ष्य पूरा गर्न चिनियाँ पर्यटकलाई नेपाल भित्राउन चीन सरकार, ट्राभल र टुर व्यवसायीहरुबीच सहकार्य र साझेदारीको आवश्यकता छ । म चिनियाँ व्यावसायिक समुदाय र लगानीकर्ताहरुलाई नेपालको पर्यटन क्षेत्रमा अझ धेरै लगानी गर्न अनुरोध गर्दछु ।
१५. नेपाल अहिले शान्ति तथा सामाजिक आर्थिक विकासको नयाँ अध्यायमा प्रवेश गरेको छ । आर्थिक विकास र जनताको समृद्धि नै हाम्रो एक मात्र राष्ट्रिय एजेण्डा हो । चिनियाँ लगानीकर्ताको लागि हाम्रा नीतिहरु लगानीमैत्री छन् । नेपालमा लगानीका धेरै नयाँ क्षेत्रहरुजस्तै पूर्वाधार विकास, जलविद्युत, होटेल व्यवसाय, सूचना तथा सञ्चार र स्वास्थ्य तथा शिक्षा विद्यमान छन्, जसबाट लगानीकर्ताले उल्लेख्य फाइदा प्राप्त गर्न सक्छन् ।
१६. अन्त्यमा, ट्रान्स हिमालय वेल्ट तथा रोड इन्टरनेश्नल कोअपरेसन फोरमको छलफल तथा संवादले आउँदा दिनहरुमा दुई देशबीच आपसी सहकार्यको लागि व्यवहारिक सल्लाह र मार्गदर्शन तय गर्ने विश्वास लिदै मेरो भनाई अन्त्य गर्न चाहन्छु ।
धन्यवाद ।
प्रतिक्रिया